'स्टारलिङ्क' को इन्टरनेट सेवा शुरु गर्न एलन मस्क इन्डोनेसियाको ...
जेठ ६, २०८१ आइतबार
नवलपरासी - नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो।
गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ ( अपरेशन पूर्व बेहोस बनाउने चिकित्सक ) नहुँदा अपरेशन सेवा बन्द हुन पुगेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।चैत महिना अघिसम्म कोभिड करारमा एक जना एनेस्थेसियन चिकित्सक रहेकोमा ती कर्मचारीले काम छाडेपछि नयाँ जनशक्ति नआउँदा अपरेशन सेवा नै बन्द भएको हो ।
चैतमा एनेस्थेसियन चिकित्सकले काम छाडेपछि लगतै सर्जन चिकित्सक आफैँ बिरामी परेर सेवा रोकिएको र पछि एक दुई वटा सामान्य अपरेशन सेवा प्रदान गरे पनि बिरामी बेहोस बनाउने विषयमा जोखिम लिने विषय नभएपछि सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन एक जना हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा अपरेशन सेवा बन्द भयो, पछि अपरेशनको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ।
जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको अपरेशन सेवा हुँदै आएकोमा अहिले सबै सेवा बन्द भएको छ । सामान्य घाउहरुको चिरफार र अपरेशन बाहेकको अपरेशन सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । अहिले अस्पतालमा सर्जन चिकित्सक समेत नरहेका उहाँले बताउनुभयो । एक जना सर्जन चिकित्सक रहेकोमा उहाँको सरुवा भएपछि अहिले अपरेशन सेवा प्रदान जनशक्ति झनै नभएको उहाँको भनाइ रहेको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीर बहादुर थापा आफैँ सर्जन हुनुहुन्थ्यो, उहाँको हालै मात्र सरुवा भएको छ । उहाँको सरुवा पछि मेसुको पद रिक्त भएको छ । अस्पतालमा अहिले स्वीकृत दरबन्दी ३१ जनाको भए पनि ७ जना मात्रै कर्मचारी रहेका छन् ।
१५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि त्यसअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् । थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचे अनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।