एउटा म्यानपावरमा छापा मार्दा अर्कै म्यानपावरका कागजात भेटिए, ८७ थान पासपाेर्ट जफत

 साउन २७, २०७९ शुक्रबार १२:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक राेजगार विभागले एउटा म्यानपावरमा छापा मार्दा अर्कै म्यानपावरका कागजात भेटाएकाे छ । हिजाे बिहीबार काठमाण्डाैकाे सिनामंगलमा रहेकाे ह्वाइट हर्स रिक्रुटमेण्ट प्रालीमा छापा मार्दा अर्कै म्यानपावरबाट वैदेशिक राेजगारीकाे प्रक्रिया अगाडि बढाइएका पासपाेर्ट भेटिएकाे विभागले जनाएकाे छ ।

त्यहाँबाट  किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका ८७ थान पासपोर्ट भेटेर जफत गरिएको  विभागका अनुसन्धान अधिकृत हेमराज अर्यालले बताउनुभयाे । कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने कानुनी प्रावधान रहेको छ । अधिकृत अर्यालका अनुसार त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ ।

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली छापा मार्न पुगेको थियो । म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो । तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताउनु भयो । विभागले छापा मार्दा किङ फिस म्यानपावरबाट वैदेशिक रोजगारीका लागि भोलिको उडानमा २३ जना युवाहरु मलेसिया जाने तयारीमा थिए । त्यसरी मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मलेसिया जान म्यानपावरलाई कति शुल्क दिएको भनेर सोधेपछि उनीहरुले कुनै पनि शुल्क नबुझाएको बताए ।

त्यस्तै म्यानपावरका कर्मचारीहरूले पनि फ्री भिसा फ्री टिकटमै मलेसिया पठाइरहेको दाबी गरेका छन् । यस बारेमा विभागले थप अनुसन्धान गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताउनु भयो । त्यसैगरी, विभागले अस्ति मात्रै कतार पठाउन १५ लाख रुपैयाँसम्म लिने गरेको गुनासो आएपछि अल ताक्वेत ओभरसिज नेपाल प्रालिमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ । त्यस म्यानपावरमाथि पनि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । दुवै म्यानपावरलाई विभागले थप अनुसन्धान गरेर वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने जनाएकाे छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया