‘ड्रिम गर्ल’काे रिलिज डेट सर्याे, अब मंसिर ७ गते प्रदर्शनमा अाउने

 असोज ११, २०७५ बिहिबार १७:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकलेसुदर्शन थापा निर्देशित चलचित्र रामकाहानीमा भने राम्रै रुचाए ।

चलचित्रले औसत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको चलचित्र हो ‘ड्रिम गर्ल’। 

चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भइसकेको थियो । तर चलचित्र रिलिजको अन्तिम समयमा आएर निर्माण टिमले चलचित्रको रिलिज डेट सारेको छ । 

अब आकाशको चलचित्र पर्खिएर बसेका दर्शकहरुले उनले अभिनय गरेको चलचित्र ‘ड्रिम गर्ल’ हेर्न मंसिर ७ गतेसम्म पर्खिनुपर्ने भएको छ । 
यसअघि पनि चलचित्र युनिटले असार २६ गतेबाट सारेर असोज १९ गते पुर्याएको थियो ।


उनी अभिनित चलचित्र रामकहानीको प्रदर्शन केही हप्ताअघि मात्र भएको र तत्कालै अर्को चलचित्र रिलिज गर्दा व्यापारमा उतार चढाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै रिलिज डेट सारिएको निर्माण टिमले बताएको छ । 

तर मंसिर ७ गते भने जस्तै समस्या भए पनि चलचित्र रिलिज गर्ने बताइएको छ । चलचित्र ‘ड्रिम गर्ल’ मा आकाशको अपोजिटमा आश्मा गिरीको अभिनय रहेको छ । 

आकाश र आश्माबाहेक चलचित्रमा विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतको मूख्य भूमिका देख्न सकिन्छ ।

राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । 

चलचित्रका सम्पादक नवीन निरौला हुन् । ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र अर्जुन शर्मा, ऋषिराज आचार्य र  रामेश्वर घितालले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्र काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डमा खिचिएकोहो । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया