१० वर्षीय बालकको हत्या आरोपमा एक पुरुष पक्राउ

 असोज ११, २०७५ बिहिबार १९:१८:११ | उषा तामाङ
unn.prixa.net

दोलखा – शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा मृत अवस्थामा फेला परेका बालकको हत्या आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

भदौ २७ गतेबाट भैसे बजारमा जान भनेर हिँडेका १० वर्षीया बालक कुशल विकको हत्या आरोपमा मृतकको आफन्त पर्ने एक जना पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका पुरुष प्रहरीको नियन्त्रणमा रहेको र उसको परिचय तत्काल खुलाउन नमिल्ने दोलखा प्रहरीले जनाएको छ । 

शैलुङ्गेश्वरका रमेश विश्वकर्मा र मैया विश्वकर्माको कान्छो छोरा कुशलको शव हराएको १५ दिन पछि बुधबार साढे ३ बजे स्थानीय नागरिकले देखेका थिए । शैलुङ भैसेडाँडा भन्दा २ किलोमिटरमाथिको जङ्गलमा आधा शरीर पुरिएको र क्षतविक्षत अवस्थामा स्थानीय नागरिकले शव देखेका थिए । 

खबर पाउनासाथ दोलखा प्रहरी घटनास्थल पुगेको थियो । शव पोष्टमार्टमका लागि चरिकोटस्थित शवगृहमा राखिएको छ । बालक हराएसँगै आफन्तले प्रहरीकोमा खोजी गरिदिन आग्रह गरेको थियो । साथै कालिन्चोक सामुदायिक एफएमले समेत बालक हराएको सम्बन्धी सूचना प्रसारण गरेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया