आजदेखि मुग्लिन–नारायणगढ सडक चौबीसै घण्टा चल्ने

 जेठ २३, २०७५ बुधबार ११:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net


चितवन – मुग्लिन–नारायणगढ सडकखण्डमा आजदेखि २४ सैं घण्टा गाडी चलाउन पाइने भएको छ ।

सडक विस्तारको लागि भन्दै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएकोमा आजदेखि २४ सैं घण्टा गाडी चलाउन दिने भएको नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति यो सडकखण्डको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने काम सकिएपछि आजदेखि गाडी नरोक्ने निर्णय भएको हो ।

यस्तै, दोस्रो तह ३२ दशमलब ७ किलोमिटर र तेस्रो तह १२ दशमलब ७ किलोमिटर कालोपत्रे गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुने खनालले जानकारी दिनुभयो । यो सडकलाई तीन भागमा विभाजन गरेर काम भैरहेको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभीको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ ।

यो सडक खण्डको कालोपत्र र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले जानकारी दिनुभयो । दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १० दशमलव ६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । यस खण्डमा उडहिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो ।

यो खण्डको प्रगति ९७ दशमलब ५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शतप्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२ दशमलब १५ किलोमिटर हो । यो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताउनुभयो ।

यस्तै, दोस्रो तह ११ दशमलब ८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । तेस्रो खण्डमा कालोपत्र, रोड एङ्करिङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले बताउनुभयो । मौसम अनुकूल भए अबको एक–दुई दिनमै दोस्रो र तेस्रो तहको कालोपत्रेको काम पनि सकिने उहाँको भनाई छ । 

चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मे १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मे र तेस्रो खण्डको ३० मे, २०१८ मा सकिएको छ । हालसम्म यस सडकको समग्र प्रगति ९१ दशमलब पाँच प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको भए पनि २०७२ सालको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ । कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै पहिरो झर्ने र गाडी बिग्रिने नभएमा एक घण्टा भित्रमा सडक पार गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख सन्तोष पन्तले बताउनुभयो ।

यो सडकखण्ड पुरै बनिसकेपछि ठूला ट्रक र बसलाई सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । साना कार, जीप र भ्यान भने सजिलै पार हुन सक्छन् । मोटरसाइकलमा यात्रा गर्ने २५ मिनेटमै पार गर्न सक्छन् । बर्खामा पहिरो खसेर जोखिम ल्याउन सक्ने ठाउँमा आयोजनाले आफै पहिरो खसालेर जोखिम हटाउने काम गरिरहेको पनि खनालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया