प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति देखियो – विरोध खतिवडा

 असोज १४, २०७५ आइतबार १३:२०:४६ | विष्णु विश्वकर्मा
unn.prixa.net

सरकारका काम कारबाहीप्रति नागरिक त निराश छन नै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद पनि असन्तुष्ट बनेका छन । देशमा बढ्दै गएका बलात्कारका घटना न्यूनीकरण गर्न नसक्नु, बलात्कारीलाई कारबाही नुहुनु, बलात्कारपछि हत्या हुँदा पनि दोषीलाई पक्राउ गर्न नसक्नु, चाडबाडका बेला महंगी बढ्नु, नियन्त्रणका लागि कुनै प्रयास नगर्नु जस्ता कामले सरकारको लोकप्रियता घट्दै गएको छ । 

सरकारका काम कारबाहीबाट असन्तुष्ट सत्तारुढ दलका सांसदले संसदमै ‘समाजमा मुख देखाएर हिँड्न लाज भइसक्यो’ भन्न थालेका छन । यसका साथै नेकपाभित्रै पनि नेतृत्वको आलोचना बढेको छ भने पार्टीभित्र गुट उपगुट ब्युँतिन थालेका छन् । सरकारप्रति बढ्दो असन्तुष्टि र सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादका विषयमा विष्णु विश्वकर्माले उज्यालो अनलाइनका लागि नेकपाका सांसद विरोध खतिवडासँग कुराकानी गर्नु भएको छ :

तपाईले संसदमा सरकारका काम गराईले मुख देखाउनै गाह्राे भयो भन्नुभयो । सत्तारुढ दलका सांसदलाई मुख देखाउनै गाह्रो भएकै हो त ?

गाह्रो भन्नाले सरकारले नागरिकलाई बाँडेका सपना पूरा गर्न सकेन । आफूले गर्छु भनेका काम गर्न सकेन । यसले नागरिकमा निराशा बढेको छ । नागरिकले न्याय मागिरहेका छन । तर सरकारले दिन सकेको छैन । सरकारका काम कारबाहीमा नागरिक सन्तुष्ट छैनन् । संसदको प्रतिनिधिको हैसियतले नागरिकस्तरबाट आएका आलोचना र गुनासो छ भनेर हामीले सरकारलाई भनेका हौँ । 

अहिले सरकारको आलोचना चौतर्फी छ । मुख देखाएर हिँड्नै गाह्रो भो भन्दा त दुई तिहाईको सरकारलाई गिज्याएको जस्तो भएन र ?

सुशासनका लागि, समृद्धिका लागि, स्थायित्वका लागि मागेको बहुमत नागरिकले दिए । नागरिकबाट बहुमत पाउनु सामान्य कुरा होइन । यो एकाएक र असोचनीय होइन । नागरिकले आश र भरोसा राखेर मत दिएका हुन् ।

प्रधानमन्त्रीलाई गिज्याएको त होइन । गरेका काम कारबाहीले नागरिक सन्तुष्ट भएनन भनेका हौँ । नागरिकलाई बाँडेका आश्वासन पूरा भएनन् । हामी कम्युनिष्ट पार्टीले बहुमत मागेका थियौँ । सुशासनका लागि, समृद्धिका लागि, स्थायित्वका लागि मागेको बहुमत नागरिकले दिए । नागरिकबाट बहुमत पाउनु सामान्य कुरा होइन । यो एकाएक र असोचनीय होइन । नागरिकले आश र भरोसा राखेर मत दिएका हुन् । तर सरकारले गरेका कामले नागरिकको आधारभूत आवश्यकता पूरा गरेन । नागरिकका जस्तै हाम्रो अपेच्छा पनि सरकारप्रति त्यस्तै थियो । तर अहिले त्यस्तो भइदिएन । जस्तो कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटना घटेको दुई महिना बितेको छ । तर खोई सरकारले पीडित परिवारलाई न्याय दियो त ? प्रहरी त समाजको रक्षक हो । सुरक्षा दिने निकाय हो ।

तर प्रहरी नै रक्षक हुनुको साटो भक्षक देखियो । सरकारले केही प्रहरी अधिकारीलाई निलम्बन मात्रै गर्यो । छानबिन गर्न समिति बनायो । समितिले प्रतिवेदन बुझाई सक्यो । तर अझै दोषी पक्राउ परेको छैन । संसदमा गृहमन्त्रीले पटक पटक दोषीलाई तत्काल पक्राउ गर्छाैँ, अपराधीको नजिक पुगिसकेका छौं मात्रै भन्ने । तर पक्राउ नगर्ने । बालिकाको बलात्कार भएको छ । हत्या भएको छ । तर दुई महिना बित्दा पनि सरकारले पीडित पक्षलाई न्याय दिन दोषीलाई पक्राउ गर्न सक्दैन । सरकारले त छानबिनकै नाममा ढाँट्ने मात्रै काम गर्यो । कि काम गर्न सक्दैनौ भन्नुपर्यो नि । नागरिकले आशा गर्न छाड्छन् । तर जिम्मेवार पक्षले संसदमा नै झुट बोलिरहने कहिलेसम्म ? 

यति भन्दा सरकारको आलोचना गरेको होइन । हामीले त सरकारलाई यो ठाउँमा चुक्यौ, तिमी अलोकप्रिय भयौ, त्यसकारणले बेलैमा यो सुधार गर भनेको त पार्टी बलियो बनाउन, सरकार बलियो बनाउन हो नि । हामी जनप्रतिनिधिको काम यही त हो । अहिले बजारमा चिनीको मूल्य कति अचाक्ली बढेको छ ? हेर्नुस् न । यही कुरा मैले संसदमा बोलेको हो । कम्तीमा देशमा सरकार छ भन्ने कुरा त नागरिकलाई महसुस गराउन सक्नुपर्‍याे नि । 

तपाईले नै यति महंगी झेलिरहनु भएको छ । आम नागरिकलाई कति गाह्रो छ ? भनेर सरकारले महसुस गर्न सकेन है ?

स्वभाविक रुपमा भन्ने हो भने महंगीले नागरिकको ढाड सेकिएको छ । दसैँको मुखमा आएर गाडी भाडा, पेट्रोलियम पदार्थको भाउ बढेको छ । अरु महंगीको झन् कुरै नगरौं । पेट्रोलको भाउ एक दुई रुपैयाँले बढेको हो ।

तर बजारमा १० रुपैयाँ बढेको छ । हामीले ठूला कामहरु गर्न योजना बनाउदै गर्दा दिनानुदिन मान्छेले देख्ने भोग्ने समस्या समाधान गर्न सकेनौं भने जतिसुकै ठूला कुरा गर्दा नागरिकले धैर्य गर्न सक्दैनन् । 

संसदमा त असन्तुष्टि पोखियो, देखियो पनि । यो विषयमा पार्टीभित्र छलफल कत्तिको हुन्छ ?

पार्टीमा छलफल नै हुन सकेको छैन । पार्टीको तल्ला कमिटी सबै भताभुंग छन् । जनवर्गीय संगठन विघटन भएका छन् । जिल्ला तहका, प्रदेश तहका पार्टी बनेको छैन । बनेको भनेको केन्द्रीय कमिटी हो । केन्द्रीय कमिटीको बैठक बसेको छैन । केन्द्रीय कमिटीभन्दा माथि पोलिटब्युरो कमिटी हो । त्यो पनि बनेको छैन । त्योभन्दा माथि स्थायी कमिटी हो । त्यो बनेको मितिदेखि बैठक नै बसेको छैन ।

त्योभन्दा माथि पार्टीको सचिवालय हो ९ जनाको । त्यहाँ अलिअलि प्रारम्भिक छलफल हुन्छ । अनि अन्तिममा अध्यक्षद्वयले भनेर माथि जान्छ । भनेपछि सानो स्केलमा छलफल नगर्ने, परामर्श नगर्ने, बैठक नराख्ने । अनि यसरी कसरी सरकार बलियो बन्छ ? कसरी पार्टी व्यवस्थित बन्छ ?

एकतापछि नेकपामा भद्रगोल पो भएछ त ? 

भद्रगोल भयो । यो तुरुन्तै सुध्रिन्छ । जुन जुन इकाई हुन्, तिनका बैठक राखिदिने । त्यहाँ परामर्श गर्ने । त्यहाँबाट आएको निर्णय कार्यान्वयन गर्ने । यति गरेपछि अहिलेका सबै समस्या समाधान भइहाल्छन् ।

तर अहिले न सरकार र पार्टीबीच बैठक भएको छ, न त छलफल नै । दलमा लामो छलफल पनि नहुने । अनि एकैचोटी निर्णयहरु बाहिर आउने । बाहिर आउँदा निर्णय आलोचना भएर बिग्रिसक्ने । बिग्रिसकेको निर्णयलाई कसरी ढाकछोप गर्ने ? 

त्यही भएर सरकारको आलोचना चुलिएको हो, प्रधानमन्त्री ओलीको अलोकप्रियता बढ्दै गएको हो भन्ने तपाईको ठम्याई ? 

यो गर्छु भनेर जिम्मा लिएर आएपछि काम नगरेपछि आलोचना हुँदैन त ? यो त अहिले धेरै नागरिकको अधिकार हो । हामी जनप्रतिनिधिको दायित्व पनि सरकारको आलोचना होइन ।  

तर प्रधानमन्त्री ओलीले त आफ्नो विरोध गर्ने, आलोचना गर्नेमाथि अरिंगाल झै जाईलाग भनेर पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । तपाईंहरु उल्टै सरकारकै आलोचना गर्न थाल्नुभयो । 

कसरी जाइलाग्ने ? झन् झन विपरीत नतिजा आइरहेका छन । झन् सरकारको आलोचना बढेको छ । मूल कुरो भनेको सामूहिक सल्लाहबाट आएको निर्णय भयो भने सबैले स्वामित्व लिन्छ । निर्णय गर्ने एक्लैले । अनि कडा आलोचना भएपछि प्रतिरक्षा गर भन्दा त मिल्दो कुरा भएन नि । त्यसले गर्दा यसको समाधानका लागि धेरै गर्नै पर्दैन । पार्टीको नियमित बैठक राख्ने, सरकार र पार्टीबीचमा समन्वय गर्ने, पार्टीसँग परामर्श गरेर मात्रै सरकार चलाउने, अनि सरकारभित्रका अंगहरुलाई चुस्तदुरुस्त राखेर चलाउने गरेपछि त पुगिहाल्छ नि । 

किन सरकार यस्ता काममा चुकिरहेको छ ? 

हो, त्यही किन भन्ने कुरा प्रधानमन्त्रीले महसुस गर्नुपर्ने हो । 

तपाईंलाई के लाग्छ ? तपाई पनि सत्तारुढ दलकै सांसद हुनुहुन्छ ।

त्यसको पछाडिको कारण मैले सबै कुरा जानेको बुझेको छु भन्ने प्रधानमन्त्रीलाई लागेको हुन सक्छ । मैले गरेका सबै काम ठिक हुन्छन् भन्ने लागेको हुन सक्छ ।

सल्लाह दिने मान्छेले गलत सल्लाह दिएको पनि हुन सक्छ । कहाँ यो बैठक गरिरहने ? मैले सबै जानेको छु । किन चाहियो बैठक ? कमिटीमा गएर बसेपछि आलोचना धेरै हुन्छ, वादप्रतिवाद हुन्छ । त्यसबाट बच्नका लागि पनि त हुन सक्छ । यस्तै कारण होलान ।

त्यसो भने एकता प्रक्रियापछि नेकपाभित्र झन गञ्जागोल अवस्था बन्यो ? कार्यकर्तालाई तितरबितर पार्ने काम मात्रै भयो ?

गञ्जागोल अवस्थालाई कमिटीहरु निर्माण गरेपछि समाधान हुन सक्थ्यो । दुईवटा पार्टी एकीकरण भए पनि आत्मीय रुपमा अझै पनि एकता भएको छैन । किनभने सँगै बसेर काम गर्न पाइएको छैन । माथिल्लो तहमा एउटा ढाँचा बन्यो । खोई जिल्ला तहमा, गाउँगाउँमा दुईथरी मान्छे बसेर संगै सहकार्य गर्दा आउने समस्या त बाँकी नै होला नि । ती चीज बाँकी नै छन् । 

सरकार बन्यो भन्यौं । घमण्ड गर्दै हिँड्यौ । नागरिकले प्रतिफल पाएन भने त कुराले मात्रै हुँदैन त । सडकमा खाल्डो छ । १५ दिनमा पुर्छु भन्ने । वर्षा थियो, छ भने भन्ने । वर्षा सकिएको कति भयो ? अब के भन्ने ?

निर्माण भएका संरचना पनि नचलाएर हामी अरु नै समस्यामा अल्झ्यौं । सरकार बन्यो भन्यौं । घमण्ड गर्दै हिँड्यौ । नागरिकले प्रतिफल पाएन भने त कुराले मात्रै हुँदैन त । सडकमा खाल्डो छ । १५ दिनमा पुर्छु भन्ने । वर्षा थियो, छ भने भन्ने । वर्षा सकिएको कति भयो ? अब के भन्ने ? दसैँ आयो भन्ने । दसैँपछि तिहार आउँछ व्यस्त भइयो भन्ने रे । त्यसपछि के भन्ने ? 

काम सरकारले गर्ने । आलोचना सरकारकै हुने । सत्तारुढ दलकै सांसद हुनुले तपाईंलाई कत्तिको पिरोलेको छ ? 

अति नै पिरोलेको छ । मलाई मात्र होइन । भोलि फेरि चुनावमा जाने हो । हाम्रा पार्टीका उम्मेदवारले हार्छन् । उम्मेदवार हारेपछि बहुमत गुम्छ । बहुमत गुम्नु भनेको हामी प्रतिपक्षीमा पुग्छौं । त्योभन्दा पनि तल पुग्न सक्छौं । त्यसपछि त सबै सकियो त ।

अहिले आएको बहुमतले हामीले राम्रो काम गरेर जोगाउन सक्यौं भने यसलाई अझै अगाडि बढाउने हो । पार्टी र व्यक्तिको मनसाय अझ बलियो बनाउने हो । हिजोको भन्दा आज धेरै गर्ने । राम्रो गर्ने हो । हिजो जितेकोभन्दा अझ धेरै जित्ने । यति गरेपछि मात्रै पार्टी राम्रो हुने हो नि । 

तर अहिलेको अवस्था ठ्याक्कै उल्टो छ हैन त ? 

ठ्याक्कै उल्टै त नभनौ । हिजोको ग्राफभन्दा ओरालो लागेको छ ।

किन होला यस्तो ? नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच तालमेल मिलेन कि ? कार्यकर्तालाई बाँध्न सकेनन ? 

त्यस्तो होइन । नीतिगत रुपमा सरसल्लाह नगर्नु । नियमित बैठक नहुनु । परामर्शको कमी हुनु । सल्लाह र परामर्श नगरी एक्लैएक्लै हिँड्ने । एक किसिमको तानाशाही अथवा घमण्डी पक्ष हावी हुँदै जाने काम भएको छ । 

त्यो तानाशाही प्रवृत्ति भनेको के हो ? प्रधानमन्त्री ओली पनि तानाशाही बन्नुभयो ? राजा महेन्द्र र पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै ? 

त्यस्तो होइन । म एक्लैले गरे हुन्छ भन्ने प्रवृत्ति तानाशाही नै हो । तर ज्ञानेन्द्रसँग तुलना नगराैं । मैले गरेपछि हुन्छ । किन बैठक बस्नुपर्यो ? भन्ने भावना भयो भने समस्या हुन्छ नि त । अहिलेको प्रतिफल पनि त्यही हो । 

अहिले माधव नेपाल स्थायी समिति बैठक बोलाएर आफ्ना असन्तुष्टि पोख्न थाल्नु भएको छ । नेकपाका अध्यक्षद्वय विदेशमा भएका बेला उहाँले आफ्नो गुटको भेला बोलाउनुभयो पनि भनियो । नेकपाभित्र पनि गुट जन्मिने भो होइन त ? 

यो सुधारका लागि हो । कसैको गुट उपगुटका लागि होइन भन्ने मेरो बुझाई हो । पार्टीको बैठक भएको छैन । पार्टीलाई विधि विधान अनुसार चलाउनुपर्छ । छलफल, सल्लाह र परामर्श गरेर काम गर्न सबै मिल्नुपर्छ भनेर स्थायी समिति बैठक बोलाइएको हो । त्यो गुटको भेला हो भने बैठकमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ पनि हुनुहुन्छ । 

म १० किलोमिटर बाटो बनाउँछु भनेर दुई वर्षसम्म एक पाइलो पनि नबनाए पनि कसैले पत्याउँछ ? त्यसैले विकास निर्माणको काम कहिले सकिंदैन ।

सबैसँग सल्लाह गर्नु भएको हो । उहाँले बैठक बोलाएर अध्यक्ष पद माग्नु भएको छैन । प्रधानमन्त्री पद पनि माग्नु भएको छैन । मेरो घरमा पैसा ल्याएर राखिदेउ । मेरो बैंक ब्यालेन्स पनि बढाई देउ भन्नु भएको छैन । भन्या के हो भने अन्यायमा परेकालाई न्याय दिनुपर्‍याे। 

चाडबाडको बेला महंगी नियन्त्रण गर्नुपर्यो । सडकका खाल्डाखुल्डी छन् । ती पुर्नुपर्‍याे । चुनावमा घोषणापत्रमा लेखिएका कुरा व्यवहारमा लागू गर्नुपर्‍याे । सरकार ठीक बाटोमा हिँडिरहेको छ र काम गरिरहेको छ भनेर नागरिकले थाहा पाउनुपर्यो । यसका लागि नागरिकलाई सेवा सुविधा ‘डेलिभरी’ गर्नुपर्‍याे । गरिरहेको काम त देखिनुपर्यो नि । 

म १० किलोमिटर बाटो बनाउँछु भनेर दुई वर्षसम्म एक पाइलो पनि नबनाए पनि कसैले पत्याउँछ ? त्यसैले विकास निर्माणको काम कहिले सकिंदैन । आज गोरेटो बाटो होला । भोलि त्यसमा गाडी हिँड्ने बाटो बनाउनुपर्ला । पर्सि पक्की बाटो चाहिएला । त्यसपछि रेलको कुरा आउँला । तर अहिले यी कुरा मात्रै गरौं भनेको होइन । नागरिकले खोजेको त खानेपानी हो । स्कुलको कोठा, स्वास्थ्य चौकी खोजेको छ । नदीले कटान गरेको ठाउँमा तटबन्ध खोजेको छ । ठूलो कुरा नागरिकले मागेकै छैन । तर यही सामान्य कुरा पनि सरकारले ‘डेलिभरी’ गर्न सकेन ।

ठूला कुरा गर्ने । तर साना काम पनि नगर्ने । सरकार केमा रुमल्लियो ?

हाम्रो लोकप्रियता चरम उत्कर्षमा पुग्यो । कसले के गर्न सक्छ ? भनेर कहीँ न कहीँ अदृश्य नदेखिन गरी कतै भर गरेको हो भने त्यो पार्टीका लागि फाइदा गर्दैन ।

अदृश्य शक्तिले पो सरकार चलाईरहेको छ ?

अदृश्य शक्ति अर्थात अव्यक्त रुप भनेको हाम्रो दुईतिहाई छ । कसले लछारपाटो लाउन सक्छ ? कम्युनिष्ट पार्टी नागरिकबीच हाई हाई छ । त्यत्रो भोट दिएको छ भन्ने महसुस भएको हो घातक हुन्छ । आखिर डुब्ने एउटा मात्रै होइन । डुङगामा बसेका सबै डुब्ने हो । त्यसरी डुब्न हुँदैन भनेर हामीले होशियारी गर्ने हो । हामी सांसदले संसदमा होशियारी गर्ने हो । पार्टीका नेताले पार्टी कमीटिलाई गराउने हो । पार्टी कमिटी बैठक बोलाउन लाउने हो । त्यो ढंगबाट गयो भने सरकार बलियो हुन्छ । पार्टी पनि बलियो हुने हो ।

तर अहिले यसरी काम भएको छैन । आफूलाई जस्तो ठीक लाग्यो । त्यसरी काम गर्ने प्रवृति देखिएको छ । पार्टी र सरकार भनेको बैठक, छलफल गरेर चल्ने हो । अर्को कुरा पार्टी विधान, सरकारको भिजनले चल्ने हो । अहिले दुबै ढंगले सरकार र पार्टी चल्न सकेको छैन । तर अहिले हामीले यसरी सरकारलाई सचेत गराउँदा विरोधी भनेर भन्न थाले । त्यस्तो होइन । हामीले सरकारका देखेका कमजोरी भन्नु विरोधी होइन । यो त समयमै कमजोर पत्ता लगाएर अघि बढ्ने उपाय पो हो । 

हामीले सरकारका कमजोरी देखेर बोल्यौं । तर कतिपयले देखेर पनि बोलेनन् । यो अर्को ठूलो कमजोरी हो । सरकारका गल्ती कमजोरी औंल्याएर पार्टी र सरकारी विरोधी भयो भनेर भन्नु गलत बुझाई हो । सरकारका कमजोरी देखेर सुधार गर्नेतर्फ लाग्नु, सुझाव दिनु भनेको पार्टीलाई बलियो बनाउन लाग्नु हो । समयमै चिन्तन गरेर नयाँ कार्ययोजना बनाउनु हो । तर मन्त्री र प्रधानमन्त्रीको निकट रहेर समस्या नदेख्ने, तिनको समाधान नखोज्ने, अराजकता मात्रै देख्नु र भन्नु भनेको ठूलो समस्या हो । त्यसले भोलि पार्टी, सरकार र देशमा पनि क्षति पुर्‍याउन सक्छ ।

सत्तापक्षको नाताले निर्मला हत्याकाण्डको दुई महिनासम्म पनि हत्यारा पत्ता नलाग्नु ठीक छ भन्ने ? अहिले एक किलो चिनीको मूल्य ६० रुपैयाँबाट बढेर ८५ रुपैयाँ भएन, ९५ रुपैयाँ बनाउन भन्ने त ? बुझाई नै गलत छ । 

सरकार वा पार्टीको कमजोरी देखाई दिने भनेको त्यो व्यक्ति पार्टी र सरकारको हितैषी हो । समर्थक हो । तर मिडियाले उल्टै सरकारको विरोधी हो भने । संसदमा मैले नगारिकका सस्याबारे बोल्दा विरोधी भने । त्यो विरोधी होइन ।

सरकार वा पार्टीको कमजोरी देखाई दिने भनेको त्यो व्यक्ति पार्टी र सरकारको हितैषी हो । समर्थक हो । तर मिडियाले उल्टै सरकारको विरोधी हो भने । संसदमा मैले नगारिकका सस्याबारे बोल्दा विरोधी भने । त्यो विरोधी होइन । मभन्दा सरकारको कडा समर्थक अरु कोही पनि छैन । किनकी अरुले देखेर पनि बोलेनन् । 
नागरिककासामु पार्टी खस्किँदैछ । सरकार अलोकप्रिय हुँदैछ भन्नुको साटो रिपोर्टिङ के गर्छन् भने एकदम राम्रो छ । ती दुई चार जना कराएका हुन् । खान नपाएर, बस्न नपाएर, कुर्सी नपाएर । बिग्रे भत्केको बेला एकदम राम्रो छ भनेर रिपोर्ट गर्ने मान्छे पार्टी वा सरकारको हितैषी हो कि ? सडकमा हिँड्ने नागरिकको गुनासो छ । 

बाटो सफा छैन । धुवाँधुलोले सबै आजित छन् । बाहिर नागरिकले गुनासो छ । मिडियामा आलोचना हुन थालेको छ । यो पक्षमा हामी होसियार बन्नुपर्छ भन्ने मान्छे पो पार्टीको सरकारको हितैषी हुन्छ । तर हाम्रो बुझाई ठीक उल्टो छ । त्यसो भए हामी जनप्रतिनिधिको काम के हो त ? म सत्तापक्षको नाताले पाँच वर्षसम्म केही नबोलेर संसदमा बसिराख्ने ? जनप्रतिनिधि भनेको विधि, प्रक्रिया र प्रचलनले नागरिकका समस्या बोल्ने हो । सरकार गर्ने ठाउँमा छ । हामी माग्ने ठाउँमा छौँ । मैले आफैले त केही गर्न सक्दिन नि । मैले माग्ने हो । नागरिकका समस्या संसदमा उठाउने हो । यदि मैले यस्तै गरेर चुपचाप बस्ने हो भने पाँच वर्षपछिको चुनावमा के गर्ने ? जमानत जफत गराउने त ? 

अब सरकारले के गर्नुपर्ला त ? पार्टीभित्र विवाद, बाहिर आलोचना बढेको बढ्यै छ । 

बोलेको पूरा गरौं । नगर्ने काम नबोलौं । डा.गोविन्द केसी फेरि अनसन बस्छु भन्नु थाल्नु भएको छ । पहिलो सहमति गर्ने, अहिले पूरा नगर्ने ? कि त डा. केसीले बढी बोले, बढी मागे पूरा गर्न सक्दिन भन्नुपर्यो । पहिला सहमति गर्दा पनि २७ दिनसम्म चुपचाप । कहाँ सहमति हुन्छ ? हुँदैन भन्ने । फेरि पछि गएर तपाईका र मेरा कुरा एउटै हुन भन्ने । 

अब यस्तो नगरौं । जे जे बोलिएको छ । जे कुरा घोषणापत्रमा लेखिएको छ । त्यो पूरा गरौं । काम गर्न थालौं । सबैले आआफ्ना काम गरौं । हल्ला गरेर समय खेल नफालौं । त्यसरी काम गर्दा विधि विधान छ । त्यसको पालना गरौं । सरकारमा बसेकाले सरकारको काम गरौं । पार्टीमा भएकाले पार्टीको काम गरौं । संसदले बनाएको सरकार संसदप्रति ‘उत्तरदायी’ हुनुपर्यो । पार्टी र सरकारबीच समन्वय हुनुपर्यो । यति गरेपछि काम सकिन्छ । 


 

अन्तिम अपडेट: असोज २८, २०७५

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

1 Comments

  • झल थापा

    Oct. 3, 2018, 9:01 a.m.

    सरकारका प्रधानमन्त्री मन्त्री देसबिदेस घुम्दै रमाउदै गर्नुपर्यो । जनताको छोराछोरी खुनपसिना बगाउदै कमाएर रेमिटेन्सबाट देश चलाएका छ्न । मुलुकमा अनेकौं थरिको कर चन्दा असुली रहेको छ । नेता मन्त्री जनताको खुन पसिनामा पौडी खेल्दै रमाएका छ्न । छ महिनामा सरकारले डिजेल पेट्रोलमा सात सात पटक बढाउदा पनि आयल निगम घाटामा फेरि बढाउने तयारीमा छ । देशमा हत्याहिंसा बलात्कार बढेको छ । सरकारले कालो चस्मा लगाएको छ

तपाईको प्रतिक्रिया