कर्णाली राजमार्ग अवरुद्ध हुँदा विमानस्थलमा भिड, १५ दिनमा एउटा मात्रै उडान

 असोज २९, २०७९ शनिबार २०:२३:४८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – अविरल वर्षाले बाढी पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ ।

जहाजको उडान कम तर यात्रुहरुको भिड बढी भएपछि सकस भएको हो । दशैँपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जानकारी दिएको छ ।

अघिपछि नियमित उडान हुने तर दशैँ अवधि भर निजी वायुसेवाले पूर्वमा बढी प्रथामिकता दिएपछि दशैँमा नागरिक घर फर्किन समेत सकस भएको थियो । नियमित उडान नहुँदा दशैँपछि गन्तव्यमा पुग्न कठिन भएको छ ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाइन्सले यो १५ दिनमा जुम्लामा एक मात्र उडान भरेको छ । नेपाल एयरलाइन्सको तालिका अनुसार हप्तामा दुई वटा जहाज आउनु पर्नेमा कार्यान्वयन हुन सकेको छैन । नागरिक उड्डयन प्राधिकरणको वर्षे उडान तालिकामा हप्तामा ७ वटा उडानका तालिका छन् ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नेपाल एयरलाइन्सको आइतवार जुम्लामा उडान अनिवार्य हुनेछ । उहाँले एउटा जहाज बिग्रेको र एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताउनुभयो । नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको ४ र नेपाल एयरलाइन्सको १ मात्र उडान भएको छ ।  

लोकसेवा परीक्षार्थी र बिरामीलाई प्रथामिकता :

जहाजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिन अघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ ।

स्थानीय प्रशासनका अनुसार यो तीन, चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, इमरजेन्सी बिरामी करिब ५० बढीलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ ।

यस बेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, बिरामी सहितका अन्य विद्यार्थीलाई पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो ।

६ जना विद्यार्थीलाई राहत बाेकेर आएको हेलिकप्टरमा पठाइएको छ । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाइन लगाएर २ सय ६ जनाको नाम टिपाेट गरिएको थियो ।

आइतवारदेखि ५० प्रतिशत नाम टिपाेट गरिएकाको कार्यान्वयन तथा ५० प्रतिशत अन्य गरी सेवा दिइने प्राधिकरणले बताएको छ । जहाज कम तर यात्रु बढी भएपछि कसरी व्यवस्थापन गर्ने भन्नेमा प्राधिकरण अहिले हैरान भएको छ ।

प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही बिरामी उडाएपछि अबको जिम्मा एयरलाइन्स र नागरिक उड्डयन आफैँले लिने छ । नेपाल एयरलाइन्सको नियमित तालिका कार्यान्वयन हुन सकेको छैन । यस्ताे बेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिवार नआउँदा सकस भएको छ ।

एकातिर विपदमा राहत, उद्धार अनि सडक पन्छाउने विषयमा तनाव भइरहेको बेला राजमार्ग बन्द भएपछि जहाज नआउँदा झनै हैरानी भएको छ । आम नागरिकले समेत टिकट नपाएको, व्यवस्थापन प्रणाली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिवार नेपाल पत्रकार महासंघको टिमले सरोकारवाला निकायसँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया