साउदीमा मस्तिष्क घात भई उपचाररत जितेन्द्रकुमारलाई सरकारी खर्चमा स्वदेश ल्याइयो

 असोज ३०, २०७९ आइतबार १०:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा मस्तिष्क घात भई अस्पतालमा उपचाररत महोत्तरीका जितेन्द्रकुमार झालाई नेपाल ल्याइएको छ ।

रोजगारीको सिलसिलामा साउदीमा रहनुभएका जितेन्द्रकुमार कोठामा बसिरहेकै बेलामा मस्तिष्क घात भई ढलेको र उपचारको क्रममा केही सुधार आएको भए पनि शरीरको बायाँ भाग नचल्ने भएकाले डाक्टरको सल्लाह अनुसार नेपाल पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, सरकारले नै सम्पूर्ण खर्च व्यहोरेर जितेन्द्रकुमारलाई स्वदेश ल्याइएको हो । 

उहाँको उपचारमा संलग्न डाक्टरले परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुन सक्ने सुझाव दिएका थिए । जसअनुसार साउदीको अस्पतालले पनि जतिसक्दो चाँडो नेपाल लैजान दूतावासलाई तागेता गरेको थियो ।

तर स्ट्रेचरमा राखेर पठाउन पर्ने अवस्थाका कारण पठाउने प्रयास गर्दा गर्दै पनि सम्भावना नभएको र पछिल्लो समय नेपाल एयरलाइन्समा त्यो व्यवस्था भएसँगै उहाँसहित थुप्रै गम्भीर प्रकृतिका बिरामी श्रमिकलाई स्वदेश पठाउन सहज भएको दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सले साउदीको रियादमा नियमित उडान सञ्चालन गरेपछि वैदेशिक रोजगार बोर्डले जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न र त्यसबापतको खर्च समेत व्यहोर्ने गरेको छ । 

शुक्रवार नेपाल ल्याइएका जितेन्द्रकुमारको अहिले परिवारले जिम्मा लिएर काठमाण्डौको वीर अस्पतालमा भर्ना गरी उपचार गराइरहेको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया