बर्दिया निकुञ्ज अवलोकनका लागि ४ वटा प्रवेशद्धार थपिए

 असोज १५, २०७५ सोमबार १७:४८:११ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको आवगमन बढेसँगै पर्यटकका लागि निकुञ्जमा थप चार वटा प्रवेशद्धार खुलेको छ । 

बर्दिया निकुञ्ज अवलोकनका लागि देश र विदेशबाट आउने पर्यटकले निकुञ्जको अनेत्र ठाउँबाट पनि अवलोकन गर्न माग गरेपछि निकुञ्ज विभागले बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धारासहित पाँच वटा ठाउँबाट प्रवेशद्धार खुल्ला गरेको हो । 

यसअघि बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्धाराबाट मात्रै प्रवेस खुल्ला भएकोमा अबदेखि ठाकुरबाबा नगरपालिकाको अम्रेनी पोष्टबाट, बारबर्दिया नगरपालिकाको रम्मापुर पोष्टबाट, बाँसगढी नगरपालिकाको बबई चेपाङ पोष्टबाट र गेरुवा गाउँपालिकाको बन्जरिया पोष्टबाट पर्यटकलाई निकुञ्ज भित्र घुम्न कार्यालयले अनुमति दिएको छ । 

जनशक्ति व्यवस्थापन प्रक्रिया निकुञ्ज कार्यालयले अघि बढाइसकेको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । चारवटा स्थानीय तहभित्र पर्ने चार प्रवेशद्धारले पर्यटन व्यवसाय प्रर्वद्धन गर्न सहयोग पुग्ने भण्डारीले बताउनुभयो ।

बर्दिया निकुञ्ज क्षेत्रमा पर्ने चारवटा स्थानीय तहमा चारवटा प्रवेशद्धार खुल्ला भएसँगै चार वटै स्थानीय तहले निकुञ्जसँग सहकार्य गर्दै प्रवेशद्धारको भव्य रुपमा उदघाट्न गर्न थालेका छन् । 

दुई साताअघि पूर्व पश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिका ७ को रम्मापुर चेकपोष्ट प्रवेशद्धार नगरप्रमुख दुर्गाबहादुर थारुले एक कार्यक्रम आयोजना गरी उद्घाटन गर्नुभयो । 

यस्तै एक साताअघि पूर्व पश्चिम राजमार्गमा पर्ने ठाकुरबाबा नगरपालिका २ को अम्रेनी चेकपोष्ट प्रवेशद्धार नगरप्रमुख घननारायण श्रेष्ठले एक कार्यक्रमको आयोजना गर्दै भव्य उदघाटन गर्नुभयो । 

आइतबार बाँकेको कोहलपुर सुर्खेत रत्नराजमार्ग सडकखण्ड अन्र्तगत सुर्खेत भेरीगंगा नगरपालिका र बाँसगढी नगरपालिका १ को बीचमा पर्ने बबई चेपाङ्ग पोष्ट प्रवेशद्धार नगरप्रमुख शालिकराम अधिकारीले एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मनत्री लिला गिरीले उद्घाटन गर्नुभयो । 

बर्दियाको साविक ११ गाविसको क्षेत्र कर्णाली नदी किनारमा पर्ने गेरुवा गाउँपालिका ५ मा पर्ने बन्जरिया पोष्ट प्रवेशद्धार पनि गाउँपालिकाका अध्यक्ष जमानसिँह केशीले केही साता भित्रै भव्य कार्यक्रमको आयोजना गरी उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो । 

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले राष्ट्रिय निकुञ्जसँग सहकार्य गर्दै पर्यटन प्रवद्धनका लागि अघि बढ्न तयार रहेको बताउनुभयो । 
कोहलपुर सुर्खेत सडक अन्र्तगत पर्ने बाँसगढी नगरपालिका १ को बबई चेपाङ्गमा नयाँ प्रवेशद्धार खुल्ला भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताउनुभयो ।

पर्यापर्यटन विकास मञ्च ठाकुरद्धारका अध्यक्ष मोहनलाल चौधीले बर्दिया निकुञ्ज प्रवेशका लागि थप गरिएका प्रवेशद्धारहरुले देशको शान, अन्तर्राष्ट्रिय पहिचान बोकेको बताउनुभयो । 

निकुञ्ज अवलोकनका लागि थप भएका प्रवेशद्धारबाट पर्यापर्यटन गतिविधिहरुलाई अगाडि बढाउन सकेमा आयआर्जनमा ठूलो टेवा पुग्ने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यको भनाइ छ । 

बर्दिया निकुञ्जमा ४ प्रवेशद्धारा थप भएका ठाउँमा उद्घाटन भएसँगै पर्यटकका लागि व्यवस्थित रिसोर्ट संचालन, होमस्टे संचालन, सांस्कृतिक नाचगानलगायत जीप सफारीका लागि पनि स्थानीयले व्यवस्था गर्न सुरु गर्न थालेका छन् भने निकुञ्जले पनि हात्ती सफारी लगायत अन्य सुविधा पनि व्यवस्थापन गर्न सुरु गरेको छ । 

९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि प्रख्यात निकुञ्ज हो । भर्खरै सार्वजनिक भएको बाघ गणनामा बर्दियामा ८७ वटा वयस्क पाटे बाघ रहेका छन् । वन्यजन्तुको वासस्थान रहेको एक मात्र उपत्यका बबई उपत्यका पनि बर्दिया निकुञ्ज भित्रै रहेको छ ।  

अन्तिम अपडेट: चैत २६, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया