नेपाल उद्योग वाणिज्य महासङ्घ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम...
पुस ४, २०८१ बिहिबार
काठमाडाैं – तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको छ ।
आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता भएको हो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडलाई दिइएको छ । तनहुँ हाड्रोपावर लिमिटेडकातर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोकातर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गर्नु भएको हो ।
दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य सन् २०२३ को डिसेम्बरभित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रबन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गर्नुभएको छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले गएको ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१, मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ ।
जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५, मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण सुरु गर्ने प्रक्रियामा छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १ सय ५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १ सय ८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।