आज जितिया पर्व, राष्ट्रपतिद्वारा शुभकामना

 असोज १६, २०७५ मंगलबार ८:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ । 

काठमाडौंमा बस्ने आदिवासी थारू समुदायका महिलाले पनि जितिया पर्व मनाउने भएका छन् । थारू महिला सभा काठमाडौँ उपत्यका समितिले महोत्सवकै रूपमा कार्यक्रम गरी जितिया पर्व मनाउन लागेको हो । जितिया पर्व मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ ।

हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि हरेक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताउनुभएको छ  ।

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । महिलाको महत्वपूर्ण पर्व जितियाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सु–सम्बन्ध कायम गर्न सफल होस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया