वैदेशिक रोजगारीमा रहेका नेपालीले अब आईपीओ भर्न पाउने, रेमिट्यान्स बचत खाता अनिवार्य

 कात्तिक १८, २०७९ शुक्रबार १४:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अबदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्न पाउने भएका छन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौँ संशोधन कार्यान्वयनमा आएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओ भर्न पाउने भएका हुन् । तर आईपीओ भर्नका लागि सम्बन्धित व्यक्तिको नाममा रेमिट्यान्स बचत खाता अनिवार्य हुनु पर्ने छ ।

यस्तै रेमिट्यान्स बचत खातामा वैदेशिक रोजगारीमै रहेर पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको देशबाट बचत गरेको हुनु पर्ने छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाट निर्देशिका संशोधन गरी यो व्यवस्था गरेको हो । 

नयाँ संशोधन अनुसार अब कम्पनीहरूले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्नुभन्दा अघि नै १५ दिनको समय तोकेर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रस्ताव आह्वान गर्नु पर्ने छ ।  

आईपीओ भर्दा धितोपत्र बोर्डबाट धितोपत्र खरिद दरखास्त सङ्कलन सम्बन्धी काम गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा आफ्नो नाममा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाताबाट मात्र भुक्तानी गर्न पाइन्छ । 

वैदेशिक रोजगारीमा गएका नागरिककै लागि निष्कासित १० प्रतिशत शेयर किन्नका लागि नेपाल सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको हुनु पर्ने छ ।

विदेशमा रहेका नेपालीलाई आईपीओ भर्नका लागि बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यममार्फत नै  सिआरएन नम्बर लिई आवेदन दिन सक्ने व्यवस्था गर्न सक्ने कुरा पनि शंसोधित निर्देशिकामा समेटिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिककै लागि भनेर छुट्टाइएको आईपीओ भरेकाहरूले सर्वसाधारणका लागि छुटाएको शेयरमा भने भर्न पाउने छैनन् । 

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको संशोधन कात्तिक १६ गतेदेखि लागू भइसकेको छ । 

विप्रेषण औपचारिक माध्यमबाट नेपाल पठाउन प्रेरित गर्ने उद्देश्यले आइपीओमा आरक्षणको व्यवस्था गरिएको हो । नेपालमा पछिल्लो समय विदेशी मुद्रा सञ्चिति कम हुँदै जाँदा वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओमा आरक्षणको व्यवस्था गर्न सकियो भने औपचारिक प्रणालीबाट आउने विप्रेषण बढ्ने अनुमान गरिएको छ ।

 विप्रेषणबाट प्राप्त भएको पैसा उपभोग्य वस्तुको खरिदमा मात्रै प्रयोग हुने र जताबाट आएको हो उतै जान थालेपछि सरकारले यो व्यवस्था गरिएको हो । विप्रेषणबाट प्राप्त भएको पैसा उत्पादनमूलक क्षेत्रमा प्रयोग होस् र मुलुकको अर्थतन्त्र निर्माणमा प्रयोग होस् भन्ने उद्देश्यका साथ अर्थमन्त्रालयको पहलमा बोर्डले त्यस्तो प्रबन्ध गरेको हो ।

नेपाल राष्ट्र बैंकको विवरणअनुसार चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । चालू आर्थिक वर्षको दोस्रो महिनासम्मको विवरणअनुसार विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमवल आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ गरी श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक सय ७० प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया