पश्चिम नेपालबाट बिदा भयो मनसुन, दसैंमा हिलोको खतरा छैन

 असोज १७, २०७५ बुधबार ११:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – लहलह फाँटैभरी झुलेका धानका बाला । खुलेको आकाश । घमाइलो मौसम । आँगनभरि ढकमक्क फुल्नै लागेका फूलका कोपिला । यस्तो वातावरणले दसैंको झल्को दिन्छ । पानी पनि नपर्ने र हिलो पनि नहुने मौसमका कारण दसैं आनन्दित हुन्छ । 

तर कहिलेकाहीँ झरी, बादल र वर्षाले खल्लो बनाइदिने गर्छ दसैंलाई । यसपालीको दसैंमा मौसम कस्तो होला त ? यही प्रश्न हामीले जल तथा मौसम पूर्वानुमान महाशाखामा सोध्यौँ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन पश्चिमी क्षेत्रबाट मंगलबार नै बिदा भएको जनाएको छ ।  मौसमविदका अनुसार पश्चिमी क्षेत्रबाट मनसुन बिदा भैसकेकोले अब केही दिनभित्रै पूर्णरुपमा मनसुन बाहिरिने छ । 

महाशाखाका मौसमविद समिर श्रेष्ठले भन्नुभयो ‘पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसक्यो तर मध्य र पूर्वमा मनसुनको प्रभाव अझै कैही दिन रहन्छ । दसैं आउन एक साता बाँकी भएकाले दसैंसम्ममा पूर्णरुपमा नै मनसुन नेपालबाट बाहिरि सकेको हुन्छ । वर्षा हुने, झरी पर्ने संकेत कुनै संकेत छैन ।’ 

नेपालमा गएको केही वर्षदेखि नै मनसुन बिदा हुने समय लम्बिँदै गइरहेको छ । मौसमविद् श्रेष्ठका अनुसार मनसुन बिदा यही दिन हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन । पश्चिम क्षेत्रबाट मनसुन बाहिरीसकेकाेले मध्य र पूर्वमा भने निकै कमजोर बन्दै गएको छ । अर्को प्रणाली केही नदेखिएकाले दसैंमा ठूलो पानी पर्ने सम्भावना देखिँदैन ।

बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने गर्छ । जसले गर्दा जुन महिना देखि सेप्टेम्बर महिनासम्म धेरै वर्षा हुने गर्छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत वर्षा यही चार महिनाको अवधिमा हुन्छ । सेप्टेम्बर महिनाको अन्त्यसँगै बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै बिदा हुन्छ । पूर्वी नेपाल हुँदै फैलिने मनसुनी प्रणाली पश्चिमबाट सफा हुँदै बाहिरिने गर्छ । 

मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमबाट पूर्वतर्फ मौसमी गतिविधि अघि बढ्छ । मनसुन बिदा भएपछिको समयमा भने स्थानीय प्रणाली तथा समुद्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्छ । बंगालको खाडीमा विकास भएको मौसमी प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने मनसुनसँगै बिदा हुन्छ ।

मनसुन बिदा हुनका लागि बंगालको खाडीबाट सक्रिय भएको मौसमी प्रणाली पूर्ण निस्क्रिय हुनुपर्छ । गएको वर्ष मनसुनी अवधि सकिएको केही समय ढिला गरी मनसुन बाहिरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया