‘मेरो लडाइ ३४ वर्षदेखि जुम्लालाई दास बनाउनेको विरुद्ध हो’ : ज्ञानेन्द्र शाही

 कात्तिक २८, २०७९ सोमबार १८:३७:४० | नेत्र शाही
unn.prixa.net

जुम्ला – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी जुम्लाको विकासको लागि भएको बताउनुभएको छ ।

शाहीले जिल्लाभर घरदैलो गरेर जुम्लाको सदरमुकाममा आज आयोजित सभामा यस्तो बताउनुभएको हो । ‘ज्ञानेन्द्र शाही जिताउ अभियान’ले आयोजना गरेको जनसभामा शाहीले आफ्नो उम्मेदवारी राष्ट्रको नेतृत्वका लागि भएको दाहोर्याउनुभयो । ३४ वर्ष अघिबाट जुम्लाले एक मन्त्री समेत नपाएको भन्दै आफूले जुम्लाबाट जितेर गएपछि राष्ट्रको नेतृत्व गर्ने पनि उहाँले बताउनुभयो  । 

‘आज जुम्लीलाई सुर्खेत समेत गएर कसैले अभद्र व्यवहार गर्यो भने सोध्ने मान्छे छैनन्’, उहाँले भन्नुभयो, ‘यो चुनाव जुम्लावासीले काठमाण्डौको कठालो समात्ने वा पैतला समात्ने दिनको फैसला भएकाले जुम्लाले न्याय गर्ने छ ।’

केही दिन अघि गठबन्धनले जुम्लामा आयोजना गरेको चुनावी सभामा प्रचण्डले भाषण गर्नुभएको थियो । आज त्यही स्थानबाट ज्ञानेन्द्रले प्रचण्डको भाषणको खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘ज्ञानेन्द्रले चुनाव जित्यो भने जुम्लीलाई दास बनाउन नपाइने भयो भनेर ज्ञानेन्द्र हराउन प्रचण्ड जुम्ला आएका हुन् ।’

सभा स्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । कार्यक्रम आयोजना गरेको मूल गेटमा झोला जाँच गरेर मात्रै मानिसहरुलाई भित्र जान दिइएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया