भदौ महिनामा  मात्रै सरकारले बाँड्यो एक करोड ६२ लाख, कसले कति पाए ?

 असोज १७, २०७५ बुधबार १७:५०:३५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – सरकारले विभिन्न व्यक्तिका नाममा भदौ महिनामा झण्डै २ करोड रुपैयाँ बाँडेको छ । 

सरकारले विभिन्न व्यक्ति र संस्थाका नाममा आर्थिक उपचार सहयोग, भ्रमण भत्ता लगायतका शीर्षकमा एक करोड ६२ लाख ९५ हजार ५ सय ५५ रुपैयाँ वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार भदौ महिनामा  विभिन्न शीर्षकमा ३३ लाख ६१ हजार देखि ३२ हजार रुपैयाँ सम्म व्यक्ति र संस्थालाई वितरण गरिएको छ  । 

सबैभन्दा धेरै रकम नेपाली कांग्रेसका नेता नरहरि आचार्यको उपचार खर्चबापतको रकम छ । सरकार आचार्यको उपचार गर्दा लागेको खर्चका लागि ३३ लाख ६१ हजार ५ सय ४५ रुपैयाँ निकाशा गरेको छ । 

यस्तै रामेछापका भिमबहादुर श्रेष्ठको उपचारका लागि १० लाख,  तनँहुकी इन्दिरा तिमिल्सिनालाई ७ लाख, नुवाकोटका अर्जुन पाण्डेका हकवालालाई ३ लाख, बर्दियाका गयाप्रसाद चौधरी र रुपन्देहीका बेदप्रसाद रेग्मीलाई १-१ लाख रुपैयाँका दरले उपचार खर्च दिइएको छ । 

यस्तै प्रदेश र स्थानीय तहको चुनावका क्रममा घाइते भएकाहरुको उपचारको लागि २७ लाख ६० हजार रुपैयाँ दिइएको छ । प्रमुख निर्वाचन आयुक्तसहितको प्रतिनिधिमण्डललाई बंगलादेशमा हुने कार्यक्रममा सहभागी हुन जाँदा पकेट खर्च शीर्षकमा एक लाख ६६ हजार ८ सय ८० रुपैयाँ निकाशा भएको छ । 

नेपालको संविधान २०७२ नामक ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका लागि  दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी अफ ल लाई ३० लाख रुपैयाँ दिइएको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई डीएफआईडीको कार्यक्रममा सहभागी हुन जाँदा भैपरी खर्च भनेर ३२ हजार ९ सय ५० रुपैयाँ सरकारले दिएको छ । 

यस्तै हेटौंडाका श्रीचन्द्र शर्मालाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ दिइएको अर्थ मन्त्रालयले जनाएको छ । 

कञ्चनपुमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार र आन्दोलनमा ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई जनही १०-१० लाख रुपैयाँका दरले रकम निकाशा भएको छ । यस्तै युवराज खड्कालाई ३ लाख र  महोत्तरीका हरिशंकर मिश्रालाई ५ लाख रुपैयाँ सरकारले दिएको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित चीनमा जाने कार्यक्रमको हवाई भाडा, भैपरी खर्च, सहसचिव र उपसचिवको दैनिक भत्ताको लागि ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ सरकारले दिएको छ । 

कसले कति पाए ? हेर्नुस् सूची

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया