सांसदहरुले सरकारलाई सोधे, चिनीको मूल्य किन बढ्यो ?

 असोज १९, २०७५ शुक्रबार १६:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चाडपर्वका बेलामा पनि चिनीलगायत अति आवश्यकीय बस्तुको मूल्य नियन्त्रण गर्न सरकार गम्भीर नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् ।

सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको शुक्रबार बसेको बैठकमा सांसद प्रेमबहादुर आलेले प्रति केजी ६३ रुपैयाँभन्दा बढी मूल्यमा चिनीको बिक्री विवरण गर्नेको पहिचान गरी कडा कारबाही गर्न पनि माग गर्नुभयो ।

उहाँले सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसहितको बैठकमा चिनीको आयातमा प्रतिबन्द किन लगाएको भनेर आक्रोश पनि व्यक्त गर्नुभयो । सांसद आलेले चिनी, तेललगायतका दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रणका लागि गम्भीर भएर अनुगमनका खटिन पनि सरकारका सम्बन्धित निकायका कर्मचारीलाई सचेत गराउनुभयो ।

समितिकी अर्का सदस्य चन्दा चौंधरीले उखु कृषकको १ अर्ब ६९ करोड बक्यौता रकम उखु मिल मालिकबाट दिलाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भाटभटेनी सुपर मार्केटमा ५९ रुपैयाँ प्रतिकिलो चिनीको बिक्री वितरण भइरहेको उल्लेख गर्दै त्यसको कारण खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनुभयो । अन्य बस्तुमा मूल्य बढाएर चिनीमा मूल्य घटाउने त्यस्ता सुपर मार्केटहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई सांसद चौंधरीले सचेत गराउनुभयो ।

समितिकी सदस्य पार्वता डिसी चौधरीले मूल्य वृद्धि नियन्त्रण गर्न सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । चाडपर्वको बेला व्यापारीले चिनीको मूल्य वृद्धि गर्दा पनि सरकारले कुनै कदम लिन नसकेकोमा उहाँको आपत्ति छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चिनीको मूल्य नियन्त्रण गर्न सरकार गम्भीर भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जनशक्तिको अभावमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकेको जवाफ पनि समितिमा दिनु भएको थियो । स्थानीय प्रशासनलाई हारगुहार गरेर मात्रै अनुगमनको कामलाई अघि बढाउनु परेको सचिव घिमिरेको भनाई छ ।

चिनीलगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढेपछि सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले त्यसको कारणबारे जानकारी लिन सम्बन्धित निकायसँग शुक्रबारबाट छलफल सुरु गरेको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया