प्रतिक्रियावादीहरुले सरकारलाई काम गर्न दिएनन्– प्रचण्ड

 असोज २०, २०७५ शनिबार १७:४९:० | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गोरखा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले सरकारलाई काम गर्न नदिएको आरोप लगाउनुभएको छ ।

सानातिना कमजोरीलाई उचालेर उनीहरुले सरकार असफल भएको देखाउन चाहेको प्रचण्डको आरोप छ । गोरखामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपालको बलियो कम्युनिष्ट सरकार संसारभरका प्रतिक्रियावादीहरुका लागि टाउको दुखाईको विषय बनेको बताउनुभयो ।

नेपालमा कायम भएको संघीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट एकतालाई तोड्न उनीहरु लागि परेको प्रचण्डको भनाई छ । ‘प्रतिक्रियावादी भनेर मैले कसलाई भन्न खोजेको भनेर तपाईँहरुले बुझिहाल्नुभएको छ’, अगुवा कार्यकर्ताहरुलाई प्रचण्डले भन्नुभयो, ‘पार्टी एकता ऐतिहासिक अवसर हो, यो कुनै प्रतिक्रियावादी र अवसरवादीहरुले दया–माया गरेर यो दिएको होइन, कसैले चाहँदैमा यो एकता कमजोर बन्दैन ।’ 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलगायत गण्डकी प्रदेशका पदाधिकारीसहितका नेता–कार्यकर्ता सहभागी प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै कमजोरीका कारण भने पार्टी कमजोर बन्न सक्ने बताउनुभयो ।

‘आफूभित्रका गुटबन्दी, अराजकता र स्वार्थलाई नियन्त्रण गर्न सकेनौं भने हामी कमजोर हुन्छौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब हामीलाई हराउन सक्ने भनेको हाम्रै कमजोरीले मात्रै हो ।’

दुई ठूला पार्टीबीचको एकतालाई विश्वभरका नेता र नागरिकले चासोपूर्वक हेरिरहेको भन्दै प्रचण्डले नेपालको पछिल्लो राजनीतिक परिवर्तनप्रति विदेशीहरुको समेत जिज्ञासा र अपेक्षा रहेको बताउनुभयो । 

भर्खरैका आफ्नो विदेश भ्रमणको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘चीनमा हाम्रो पार्टी एकताबारे नेताहरुले चासो राख्नुभयो, मैले त्यहाँ भनेको थिएँ, नेपाल सानो छ तर नेपालको कम्युनिष्ट पार्टी सानो छैन ।’ विश्वकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी नेपालको भएको र यसले जनअपेक्षा अनुसार काम गर्नु पर्नेमा प्रचण्डले जोड दिनुभयो ।

पार्टी र सरकार सामु थुप्रै चुनौती रहेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टी भित्र कुनै खालको विवाद नरहेको दाबी गर्नुभयो । ‘नेताहरु सरकारको काम र विदेश जानुपरेकाले पार्टी एकतामा केही ढिलाई भएको हो, नेतृत्वमा समस्या भएर होइन’, कार्यकर्ता माझ प्रचण्डले भन्नुभयो ।

भोलि असोज २१ गते बस्ने सचिवालय बैठकले पार्टी एकताको बाँकी कामलाई गति दिने उहाँको भनाई छ । सरकारका कामबारे नागरिकले विभिन्न प्रश्न उठाइरहेको भन्दै प्रचण्डले सरकारका राम्रा कामको बचाउ गर्न आग्रह गर्नुभयो ।

‘नागरिक जति उत्साहित हुनुपर्ने हो, त्यति भएनन् भन्ने जानकारी आएको छ, म कहाँ पनि त्यो जानकारी आइपुगेको छ, प्रधानमन्त्रीजी कहाँ पनि पुगेको छ’, उहाँले भन्नुभयो, ‘कहाँ कहाँ कमजोरी भएको छ, त्यसलाई सुधार्नै पर्छ, यो पटक हामीलाई कमजोरी गर्ने छुट छैन ।’
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया