सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जनाको जमानत जफत

 मंसिर २४, २०७९ शनिबार ९:१२:२३ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डोटी - प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सुदूरपश्चिम प्रदेश सभातर्फ १ सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको दश प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था अनुरुप उनीहरुकाे जमानत जफत भएकाे हाे । सुदूरपश्चिम प्रदेश सभा सदस्यतर्फ ३२ सिटका लागि भएकाे चुनावमा ८२ जना उम्मेदवार जमानत जफत हुनबाट जाेगिएका छन् । 

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवारले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । 

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले एमाले, नेकपा (माओवादी केन्द्र) लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारकोसमेत जमानत जफत भएको जानकारी दिएकाे छ । 

यहाँ प्रदेश सभा प्रत्यक्षतर्फ डडेल्धुरा प्रदेश सभा २ मा एमालेका गजेन्द्रबहादुर शाहीकाे जमानत जफत भएको छ । कुल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गर्नुभएकाे निर्वाचन कार्यालयले जनाएको छ । जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन् । जमानत जफत हुनेमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीदेखि बाजुराका राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मतबहादुर शाहीसम्म छन् ।

बाजुरा प्रदेश सभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ । विश्वकर्माले कुल सदर मत २० हजार सात सय तीनमध्ये जम्मा एक हजार ९८ मत मात्रै प्राप्त गर्नुभएकाे छ । 

सुदूरपश्चिमअन्तर्गत प्रदेश सभाका कुल एक सय ९३ उम्मेदवारमध्ये कैलाली चुनाव क्षेत्र नं १ प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार चक्रबहादुर चौधरीले सबैभन्दा कम १३ मत प्राप्त गर्नुभएको छ । कुल २८ हजार दुई सय छ मत सदर भएकामा चौधरीले सबैभन्दा कम मत प्राप्त गर्नुभएकाे हाे । प्रदेश सभा सदस्यमा सबैभन्दा बढी नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन, नेकपा (एकीकृत समाजवादी) ले तीन र एक जना स्वतन्त्र १ ले चुनावमा जित हासिल गरेका छन् ।

यसैगरी प्रदेश सभामा प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित नभएकाले राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत २१ जनामध्ये १८ जना महिला छनोट गर्नुपर्ने भएको छ । प्रदेश सभामा एक तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसले १८ सिट जित्दै पहिलो दल बनेको छ भने प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ तीन गरी ११ सिटसहित माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेश सभामा चार जना प्रदेश सभा सदस्यमा दोहोरिएर निर्वाचित भएका छन् । पुनःनिर्वाचित हुनेमा कञ्चनपुर चुनाव क्षेत्र नं ३ प्रदेश सभा १ बाट आर्थिक मामिलामन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का प्रकाश रावल र कैलाली ४ प्रदेश सभा १ बाट प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) दीर्घबहादुर सोडारी रहनु भएको छ ।

त्यसैगरी दार्चुला प्रदेश सभा २ बाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री एवम् माओवादी केन्द्रका नेता मानबहादुर धामी र अछाम २ प्रदेश सभा १ बाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया