सुदूरपश्चिम प्रदेशको बजेट कार्यान्वयनमा आएन

 असोज २१, २०७५ आइतबार १८:१२:८ | निर्मला खडायत
unn.prixa.net

कैलाली – आर्थिक वर्ष सुरु भएको तीन महिनाको अवधिमा समेत सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वय हुन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको २५ अर्ब ६ करोडभन्दा बढीको बजेट कार्यान्वयनका लागि खाका समेत बन्न सकेको छैन । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नै लाग्दा पनि बजेट कार्यान्वयमा जान नसकेको बताउनुभयो ।

उहाँले बजेट कार्यान्वयन गर्ने निकाय, कर्मचारी अभावलगायतका कारण बजेट कार्यान्वयनको चरणमा जान नसकेको जानकारी दिनुभयो । अहिलेसम्म तीन मन्त्रालयले बजेट कार्यान्वयको खाका तयार गरिसकेको र अर्थ मन्त्रालयले स्वीकृति समेत दिइसकेको छ ।

एक मन्त्रालयले अझै बजेट कार्यान्वयनको खाका नै तयार पारेको छैन । सबै मन्त्रालयले बजेट कार्यान्वयनको खाका तयार पारिसकेको र प्रदेश सरकारका कार्यालय, विभाग, निर्देशनालय र कर्मचारी पनि आइसकेकोले अब बजेट कार्यान्वयन गर्ने तयारी भइरहेको अर्थमन्त्रालयले जनाएको छ । 

यस्तै, प्रदेश सरकारले डल्लो बजेट समेत बाँडफाड गर्न सकेको छैन । चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटमा सरकारले बिना शिर्षक झण्डै ३ अर्ब रुपैयाँ राखेको थियो । प्रमुख प्रतिपक्षी दलले डल्लो बजेट नफुटाएको भन्दै सरकारको आलोचना समेत गर्दै आएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षलाई सँगै राखेर डल्लो बजेट फुटाइने बताए पनि अर्थमन्त्री बोहराले भने उक्त बजेको बाँडफाड गर्दा प्रतिपक्षीसँग कुनै छलफल गर्न आवश्यक नरहेको बताउनुभयो ।

उहाँले डल्लो बजेटलाई प्रदेशको विकासमा खर्च गर्ने गरी बाँडफाड गरिने जानकारी दिनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई महिनामा कुल लक्ष्यको ७ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको जानकारी दिएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब २१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । दुई महिनाको अवधिमा ९ करोड ७७ लाख ६५ हजार ७ सय १ रुपैयाँ राजश्व संकलन गरिएको अर्थमन्त्री बोहराले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया