सेनाद्वारा डाेटीकाे बाेगटानमा हेलिप्याड निर्माण

 पुस १८, २०७९ सोमबार २०:५:५९ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको नेपाली सेनाको भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । जिल्ला सदरमुकामबाट विकट मानिएको फुड्सिलमा गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो ।

प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको गणका गणपति जनमत कार्कीले बताउनुभयो । हेलिप्याडले नागरिकलाई सहज हुने उहाँको विश्वास छ । 

भैरवप्रसाद गणको पाँच लाख रुपैयाँको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारमा हेलिप्याड निर्माण भएको हो । सदरमुकामभन्दा बाहिर सबैभन्दा पहिला बोगटानमा हेलिप्याड निर्माण गर्नु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो । 

नेपाली सेना र बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा मिति तय गरी हेलिप्याडको उद्घाटन गर्ने तयारी रहेको गणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया