दक्षिण अफ्रिका हुँदै युरोप र अमेरिका जाने बढेपछि दूतावासले जारी गर्‍याे 'ट्राभल एड्भाइजरी'

 पुस २२, २०७९ शुक्रबार १३:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाकाे राजधानी केप टाउन

काठमाण्डाै – दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासले 'ट्राभल एड्भाइजरी' जारी गरेको छ । दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले 'ट्राभल एड्भाइजरी' जारी गरेको हो । पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब सुविधासहितको पदमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने क्रम बढ्दो क्रममा छ । तर दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ । 

दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवम् दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका जानका लागि सहज हुने भ्रममा पारी ती देशहरूमा पठाउन सहयोग गर्ने जस्ता अनेकौँ प्रलोभन देखाइ नेपाली नागरिकबाट लाखौँ रुपियाँ लिइ उनीहरूलाई भारतको विभिन्न सहरहरू (नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवान्डा, कङ्गो लगायतका अफ्रिकी देश हुँदै निकै कठिन, जोखिमपूर्णरूपले दक्षिण अफ्रिकामा ल्याइ अलपत्र पारी छोडिदिने र कतिपय अवस्थामा ती ट्रान्जिट देशमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोमा गम्भीर ध्यानाकर्षण भएकाे दूतावासको भनाइ छ । 

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिइ कुनै व्यक्तिलाई विदेशमा ल्याइ अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानुन अनुरूप निषेध गरिएका काममा संलग्न हुने कार्य कानुन बमोजिम दण्डनीय भएकाले यस खाले गैरकानुनी काम नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा दूतावासले अनुरोध गरेको छ । दक्षिण अफ्रिका जाने नेपालीलाई विभिन्न कुरा ख्याल गर्न दूतावासले अनुरोध गरेको हो ।

दक्षिण अफ्रिकाले २ अगस्ट २०२२ देखि विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई ल्याउन पाउने व्यवस्था गरेको छ । यदि त्यस्ता पदहरूमा वैदेशिक रोजगारमा जान चाहेको खण्डमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले अनुरोध गरेको छ । भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएकाले त्यस्तो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाउने दूतावासले प्रस्ट पारेको छ ।

साथै पर्यटक भिसामा आइ कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने काम गैरकानुनी भएकाले त्यस्तो काममा संलग्न व्यक्तिलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानुन बमोजिम दण्ड, जरिबाना गराइ देश निकाला गर्ने उल्लेख छ । कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशहरूमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेकाे नेपाली नियोगहरूमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुने उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया