मनाङको तातोपानी कुण्ड: स्थानीयका लागि वरदान, पर्यटकको रोजाइकाे गन्तव्य

 असोज २३, २०७५ मंगलबार १५:१:२३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमाली जिल्ला मनाङ आफैमा चिसो छ । बिस्तारै जाडो पनि सुरु हुँदैछ । त्यसैले पनि अहिले हिमालपारीको जिल्ला मनाङ पुग्नेले चिसोको अनुभव गर्छन् । चिसो वातावरणमा चिसो पानीमा नुहाउन, कपडा धुन पक्कै समस्या हुन्छ । 

मनाङकै चामे गाउँपालिका–३, मा तातोपानी कुण्ड छ । यहाँ बाह्रै महिना बग्ने प्राकृतिक तातोपानी छ । त्यसैले स्थानीयसँगै यहाँसम्म आउने पर्यटकलाई चिसोको समयमा पनि नुहाउन सजिलो भएको छ । स्थानीयका लागि यो कुण्ड ‘वरदान’ नै सावित भएको स्थानीय राजन गुरुङले बताउनुभयो ।

‘हिमाली जिल्ला हो । चिसो त हुन्छ नै । हामीकहाँ तातोपानी कुण्ड छ । यसले गर्दा चिसोको समयमा पनि नुहाउन, कपडा धुन सजिलो हुन्छ । कुण्ड हाम्रो लागि वरदान नै सावित भएको छ,’ गुरुङले भन्नुभयो ।

स्थानीयका अनुसार तातोपानी कुण्डमा नुहाउँदा हाडजोर्नी तथा छालासम्बन्धी रोगहरु निको हुन्छन् । 

पर्यटकको रोजाइमा कुण्ड        

नुहाउने र लत्ताकपडा धुनेहरुकाका लागि मात्र होइन, अहिले यो कुण्ड यहाँसम्म आउने आन्तरिक तथा बाह्य पर्यटक दुवैको रोजाइमा पर्न थालेको छ । मनाङ पुग्ने प्रायः पर्यटक एकदिन भएपनि मनाङको चामेमा नै बस्छन् । 

अहिले ‘पर्यटन सिजन’ छ । मनाङ आउने पर्यटकको संख्या बढ्दो छ । एक्याप मनाङका प्रमुख बावुलाल तिरुवाका अनुसार मनाङमा अहिले दैनिक झण्डै २ सयको हाराहारीमा पर्यटक भित्रिएका छन् । मनाङ भित्रिएका पर्यटकको पहिलो रोजाइ तातोपानी कुण्ड बनेको छ।    

 

स्थानीय सञ्चारकर्मी नेगम परियारका अनुसार सदरमुकाम चामे नजिकै तातोपानी कुण्ड रहेकाले पनि यस कुण्डसम्म सजिलै पर्यटक पुग्न सक्छन् । साँझपख थकान मेट्नका साथै प्राकृतिक सौन्दर्यमा रमाउनका लागि पर्यटक कुण्डसम्म पुग्ने गर्दछन् । 

कुण्डको स्तरोन्नति

‘चिसोको समय छ । स्थानीयसंगै पर्यटकहरुलाई प्राकृतिक तातोपानी कुण्डमा नुहाउन, कपडा धुन सजिलो भएको छ । विशेषगरी ः साँझपख यस कुण्डमा नुहाउन, कपडा धुन आउनेको भीड नै लाग्छ,’ नेगमले थप्नुभयो ।   

चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङका अनुसार गाउँपालिकाले २४ लाख रुपैयाँको लागतमा यस कुण्डको स्तरोन्नति गरेको छ । मस्र्याङ्दी नदी किनारामै रहेको तातोपानी कुण्डमा नुहाउनका लागि महिला र पुरुषका लागि अलग–अलग पोखरी बनाईएको छ । 

लुगा धुनका लागि तातोपानी कुण्ड परिसरमै ३ वटा धारा बनाइएको छ । महिला र पुरुषका लागि छुट्टाछु्टै ‘लुगा फेर्ने कक्ष’ बनाइएको छ । 
नजीकै शौचालय निर्माण गरिएको छ भने पोखरीसम्म पुग्नका लागि सिँढी पनि बनाइएको छ । 

नेगमका अनुसार केही साताअघि मस्र्याङ्दीमा आएको बाढीका कारण तातोपानी कुण्डलाई सुरक्षित राख्न बनाइएको तटबन्ध बगाएको छ । 

‘तातोपानी कुण्डलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि समेत स्थानीय सरकारले काम गर्नेछ,’  उपाध्यक्ष गुरुङले भन्नुभयो ।   

तातोपानी कुण्डजस्ता प्राकृतिक श्रोतसाधनको संरक्षण–संवद्र्धन गर्दै सदुपयोग गर्न सके पर्यटक प्रवद्र्धनँंगै आर्थिक उपार्जनमा समेत टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् ।      
 

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया