देशका विभिन्न ठाउँमा खुले ७० भन्दा बढी म्यानपावरका शाखा कार्यालय

 पुस २८, २०७९ बिहिबार १३:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्रवाह विकेन्द्रीत गरेसँगै विभिन्न जिल्लाहरूमा ७० भन्दा बढी म्यानपावरका शाखा खुलेका छन् ।

इजाजतपत्रवाला म्यानपावर कम्पनीलाई प्रदेश स्तरमा पनि शाखा खोल्न अनुमति दिएसँगै उपत्यका बाहिरका विभिन्न स्थानमा ७० भन्दा बढी शाखाहरू खुलेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो । 

‘प्रदेश स्तरबाटै सबै खाले श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारी सम्बन्धी अरू काम पनि हुने भएपछि विभागले म्यानपावरका शाखा खोल्न पनि अनुमति दियो’ उहाँले भन्नुभयो ‘जिल्लाहरूमा पनि आधिकारिक रूपमा म्यानपावरका शाखा भएपछि गैरकानुनी रूपमा एजेण्टहरुले काम गर्ने भएनन्, आधिकारिक रूपमा म्यानपावरहरूले नै काम गर्दा ठगी कम हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

प्रदेश स्तरमा नै म्यानपावरको शाखा हुँदा वैदेशिक रोजगारीमा जान चाहनेहरूले पनि बुझ्नकै लागि भनेर काठमाण्डौसम्म आउन नपरोस् र ठगी पनि कम हुनेछ भन्ने विभागले विश्वास लिएको छ । 

गएको असोज महिनादेखि विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने सङ्ख्याको आधारमा म्यानपावरहरूलाई शाखा कार्यालय खोल्न पाउने गरी अनुमति दिन थालेको थियो ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ ।

यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न आह्वान गरेको थियो । 

कुनै पनि म्यानपावर कम्पनीले शाखा कार्यालय खोल्नका लागि वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजत लिएको कम्तीमा पनि एक वर्ष पूरा भएको हुनु पर्छ । 

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने लक्ष्य राखेका म्यानपावर कम्पनीले बढीमा तीन वटासम्म र पाँच हजार जनाभन्दा बढी कामदार पठाउने लक्ष्य राखेका म्यानपावर कम्पनीले बढीमा ६ वटासम्म शाखा कार्यालय खोल्न पाउने नियम छ । तर एक प्रदेशमा एकभन्दा बढी शाखा कार्यालय भने खोल्न पाइने छैन ।

पछिल्लो समय सरकारले वैदेशिक रोजगारसम्बन्धी सबै खाले काम प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरू बाटै प्रदान गर्ने गरी सेवा विकेन्द्रीकरण गरिरहेको छ । 

प्रदेश १ को विराटनगर, मधेस प्रदेशको जनकपुर, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट सबै खाले श्रम स्वीकृति प्रदान भइरहेको छ ।

पोखरा र बुटवलमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट त वैदेशिक रोजगारसँग सम्बन्धित अन्य कामहरू पनि भइरहेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया