दसैँ मनाउन घर फर्किने डोटेलीहरु सीमा नाकामा लुटिँदै

 असोज २३, २०७५ मंगलबार १६:४९:१४ | विमल बिष्ट
unn.prixa.net

डोटी – दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने डोटेलीहरुको हिजो आज लर्को लाग्न थालेको छ ।

असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्ला बाहिर गएका डोटेलीहरु घर फर्किन थालेपछि यहाँका गाउँघरमा दसैँको रौनकसँगै चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरु दसैँमा घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ–घरमा निकै खुशीयाली छाउन थालेको बडीकेदार गाउँपालिकाका स्थानीय रोजबहादुर कललेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला गाउँमा प्रायः सुन सान थियो, अहिले दसैँ मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ ।’ कामका लागि भारत गएका घर गाउँमा फर्किन थालेपछि अहिले यहाँका गाउँ घरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको छ । अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलहरुमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका बगरका स्थानीय व्यापारी जहरसिंह खवारले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दसैँ तिहारमा प्राय पैसा नभएको त कोही हुदैन तैपनि रोजगारी बाट फर्किएकाहरुले बढी सरसामान किनिदिदा यहाँको ब्यापार ब्यबसाय एकाएक फष्टाएको छ ।’ उता रोजगारीका लागि भारत गएकाहरु घर फर्किदा सिमानाकाहरुमा दैनिक जसो लुटिने तथा हेपिने गरेको भारतको केरालाशहरमा काम गरी फर्किएका डोटी पुर्बिचौकप्ी गाउपालिकाका स्थानिय राम बिकले गुनासो गनुभयो ।

उहाँले भन्नु भयो ‘भारतिय प्रहरीले अनाहकमा दुख दिन्छन् पैसा माग्छन,नदिए सामान नै ल्याउन दिदैनन् ।’ प्राय जसो दुई÷तिन जना सुदूरपश्चिमेलीहरु सिकानाकामा दिनहुँ लुटिने गरेको स्थानियबासीहरु बताउछन् । उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी सुरज केसीले भारतबाट फर्किने नेपालीहरुलाई दुःख नदिन सीमा क्षेत्रमा खटिएका प्रहरीहरुलाई निर्देशन दिएको बताउनुभयो ।

‘भारतीय प्रहरीले सीमा क्षेत्रमा भारतबाट फर्किएकाहरुलाई दुःख दिन थालेको छ भन्ने खबर आएपछि हामीले दुःख नदिन खबर गरेका छौ’, उहाँले भन्नुभयो, ‘सीमा नाकामा कसैले दुःख पाएको भए प्रहरीले खोलेको नागरिक सहायत कक्ष भन्ने छ, त्यहाँ उजुरी गरे हामी सहयोग गछौ ।’

सीमा क्षेत्रमा बर्सेनि सुदूरपश्चिमवासीहरु लुटिँदा र हेपिदा समेत सरकारले त्यसको रोकथामका लागि खासै पहल गर्न नसकेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिम वासीहरु यहाँको त्रिनगर तथा गड्डा चौकी भन्सारहरुमा बढी लुटिने गरेका छन् ।  

सुदूरपश्चिम प्रदेशका लगभग नौ वटै जिल्लाबाट कामका लागि भारत जानेहरु बर्सेनि बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन त, भन्ने यकिन तथ्यांक भने छैन । यद्यपि झण्डै २५ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेहरुको संख्या कम्तिमा पनि ६ लाख जति रहेको अनुमान विभिन्न संघसंस्थाहरुले लगाउने गरेका छन् ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलो समेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।

प्रदेश सरकारले कामका लागि भारत जानेहरुको संख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया