न्यूरोडमा भारी बोकेर दसैँ खर्च

 असोज २५, २०७५ बिहिबार ९:२८:७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सिन्धुलीका राजिव परियारले काठमाडौंको न्यूरोडमा भारी बोक्ने काम गर्न थालेको पाँच वर्ष भयो । उहाँ बिहान ६ बजे हातमा नाम्लो बाेकेर कोठाबाट निस्किनुहुन्छ । राति ट्रकले पसलमा झारेको ठाउँमा पुर्याएर साहुबाट हाताहाती ज्याला थाप्नुहुन्छ । यो काम गरेर उहाँ दिनमा दुई तीन हजार रुपैयाँ जति कमाउनुहुन्छ । यसरी कमाएको पैसाले काठमाडौंमा आफ्नो र गाउँमा ६ जनाको परिवारको गर्जो धान्दै आएको छ । 

उहाँ खेती लगाउने र अनाज भित्र्याउने समयमा गाउँ जानुहुन्छ । खेतीपातीको काम सकेर फेरि काठमाडौं फर्किनुहुन्छ । ‘एकपटक भारतको गोवामा कमाईको लागि गएको थिएँ, त्यहाँबाट नेपाल फर्केपछि काठमाडौंतिर आइयो’ उहाँले भन्नुभयो, ‘उताको भन्दा यता राम्रो कमाई भएपछि फर्केर भारत जानुपरेन ।’ 

सिन्धुलीकै अर्का प्रेम परियार पनि न्यूरोडमा भारी बोक्ने काम गर्नुहुन्छ । उहाँले यो काम थाल्नुभएको एक वर्ष भयो । एकपटक वैदेशिक रोजगारीमा दुबई गइसकेका प्रेम त्यहाँ विभिन्न दुःख सहेर नेपाल आउनुभयो । त्यसपछि उहाँलाई फर्केर विदेश जान मन लागेन । ‘विदेशमा ज्यानको बाजी थापेर जस्तो काम पनि गर्नुपर्छ, कति पीडा भोग्नुपर्छ, नेपालमा भारी बोक्ने काम गर्दा के को लाज’ उहाँले भन्नुभयो, ‘आफ्नो देश भनेको आफ्नै देश हो । कसैले रिसाए पनि आफ्नै मान्छेले रिसाए जस्तो लाग्छ । सबै साथीभाइ सँगै मिलेर काम गर्न पाइन्छ भने योभन्दा राम्रो अरु के होला ?’ 

काठमाडौंका साँघुरा गल्लीमा ठूला भारी र सामान लिएर गाडी गुड्न सक्दैनन् । व्यस्त सडक भएका कारण पनि त्यहाँ सामान ढुवानीको लागि गाडीको आवतजावत सम्भव नभएकाले भरियाहरु नै सामान बोक्ने विकल्प बनेका छन् । यही कारणले काठमाडौंमा भारी बोक्न सक्नेलाई धेरै अवसर छ ।

हातमा नाम्लो समातेर सडकको छेउमा टहलाउँदै गरेका देखिने भरियाहरु दसैंको लागि भनेर झनै खटिएर लागेका छन् ।  काम पाउनको लागि केही गर्नुपर्दैन, पाखुरीमा बल र साहुसँग चिनजान भए पुग्छ । नयाँलाई अलि कम काम पर्छ । साहुसँग चिनजान भएका पुराना भरियाहरुले बढी काम पाउँछन् । 

एउटा भारी बीस, पच्चीस किलोदेखि एकसय किलोसम्मको हुनेगर्छ । भरियाहरुलाई भारीको तौल र सामान पुर्याउनुपर्ने गन्तव्यसम्मको दुरीको आधारमा ज्याला निर्धारण गरिन्छ । सामान्यतया भरियाले एकपटकमा एक सयदेखि चारसय रुपैयाँसम्म ज्याला पाउने गर्छन् । ‘न्यूरोडबाट पुतलीसडकसम्म ८० किलो जतिको भारी पुर्याएको चारसय रुपैयाँ जति ज्याला पाइन्छ’ प्रेमले भन्नुभयो ।

अरुबेला भन्दा दसैँको बेला भारी पनि धेरै हुन्छ र काम पनि धेरै पाइन्छ । दसैँ खर्च जुटाउने माध्यम पनि यही हो । भरियाहरुका अनुसार, अहिलेको कमाई सबै दसैँमा नै सकिन्छ । सिन्धुलीका अर्का भरिया २२ वर्षीय मनोज परियारले भन्नुभयो, ‘काम गर्न गाह्रो भए पनि मेहनत अनुसारको कमाइ ठिकै छ ।’

काठमाडौंमा सिन्धुली, गोरखा, स्याङ्जा तथा नुवाकोटका भरियाहरु आआफ्नो समूह बनाएर काम गर्ने गर्छन् । आआफ्नो जिल्लाको समूह बनाएर काम गर्दा आफ्नोपनको आभाष हुने मनोज परियारले बताउनुभयो । ‘सबै मिलेर काम गरेको देख्दा रमाइलो हुन्छ, कोही कसैको कमाइमा आरिस गर्दैनन् । जसले जति कमायो त्यसैमा चित्त बुझाउँछन् । जति बढि खटियो त्यति बढि कमाउन सकिन्छ भन्नेमा सबैको विश्वास छ’ उहाँले भन्नुभयो ।

दसैँको योबेला भरियाहरुको लागि धेरै कमाई हुने सिजन हो । आउनुपर्ने सामान आइसके । ‘अब केही दिन काम गरिन्छ अनि दसैँको सामान किनमेल गरेर घर जाने सबैको योजना छ’ मनेजले भन्नुभयो, ‘घर हामीहरु सँगै जान्छौं, दसैँ मनाएर फेरि यतै आउने हो । त्यसपछि जाडो महिनाका लागि कपडाहरु आउँछन् । त्यतिबेला पनि काम राम्रै पर्छ ।’
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया