अायातित भारतीय केराका कारण सप्तरीका केरा किसानहरु मारमा

 असोज २५, २०७५ बिहिबार १८:५८:१० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – नेपालीहरुको महान पर्व दसैं र तिहार नजिकिँदै गर्दा सप्तरीमा भारतीय केराको आयात भएपछि सप्तरीका किसानहरु मारमा परेका छन् ।

पछिल्लो पटक केरा खेतीको रुपमा चिनिने सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिका वडा न.–१ भारदहका किसानहरु अहिले नजिकिँदै गरेको चाडपर्वको बेलामा स्थानीय बजारमा भारतीय केराको आयात हुन थालेका कारण चिन्तित छन् । 

आफ्नै लगानीमा त्यहाँका किसानहरुले बर्सेनि केरा खेती गर्दै आइरहेको तथा केरा खेतीबाटै भारदहका कत्तिपय किसानहरुको गुजारा समेत चलिरहेको अवस्थामा भारतबाट केरा आयात हुन थालेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन् । 

कुनै बेला बाढीका कारणले त कुनै बेला जङ्गली हात्ती र जनावरका कारणले आफूहरु मारमा परेका बेला बजारमा भारतीय केरा आयात हुन थालेपछि थप मारमा परेको भारदहका किसान दिलिप यादवको भनाई छ ।
 
यादवका अनुसार किसानहले मेहनत गरेर लगाएको करिब ५ बिगाह जग्गाको केराले बजार नपाउँदा करिब २५ लाखभन्दा बढी क्षति भएको छ ।

त्यस्तै अर्का किसान इनरदेव लौगीले केरा व्यवसायीहरुलाई प्रदेश तथा केन्द्रीय सरकारले बजारको उचित व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।

लौगीका अनुसार कृषिमन्त्री सप्तरी जिल्लाबाटै भएपछि किसानहरुको समस्या समाधान होला भन्ने आशा गरिए पनि यस्तो भएको देखिँदैन । 

यसैबीच भारदहका केरा किसानहरुले उचित बजार व्यवस्थापन तथा केरा किसानहरुको समस्या अविलम्ब समाधान नभए सरकारविरुद्ध आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

भारदहमा मात्र करिब ३० बिगाह जग्गामा केरा खेती भइरहेको केरा व्यवसायीहरुको भनाई छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया