नेपाली सभ्यताकाे पुनर्जागरण आवश्यक छ : राष्ट्रपति भण्डारी

 फागुन ३, २०७९ बुधबार १६:५०:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुभएको छ । 

आज बुधवार एक औपचारिक समारोहमा राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षक भवनकाे उद्घाटन गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुनर्जागरण आवश्यक भएको बताउनुभयो । उहाँले नेपाल सांस्कृतिक, नैतिक र सभ्यता पुनर्निर्माणकाे सङ्घारमा उभिएको भन्दै यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो। 

‘हामीहरूले अब स्वाभिमान र सम्मान खोज्नुपर्छ, यसका लागि सांस्कृतिक, नैतिक र सभ्यताको संस्कारलाई विकास गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘मैले यसलाई नेपाली सभ्यताको पुनर्जागरणको नाम दिएकी छु।’

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रियस्तरमा यो अभियानलाई प्राज्ञिक तथा विश्वविद्यालयहरूले जिम्मेवारी लिएर उचाइमा पुर्‍याएकाे इतिहास रहेको भन्दै नेपाली सभ्यताको पुनर्जागरणको अभियानको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले लिनुपर्ने सुझाव दिनुभयो । संस्कृत भाषाको संरक्षणका लागि अहम् भूमिका खेल्दै आएको नेपाल संस्कृत विश्वविद्यालयले यो प्रयासलाई थप उचाइमा पुर्‍याउन विश्वविद्यालयले थप सक्रियता दिनुपर्ने उहाँले बताउनुभयाे । विश्वमा प्राकृतिक चिकित्साले अधिक महत्त्व पाउँदै आएको भन्दै नेपालमा पनि यसको प्रभावकारितामा जोड दिँदै यो पद्धतिको विश्वसनीयता कायम गर्नुपर्ने राष्ट्रपति भण्डारीकाे भनाइ छ ।

विश्वविद्यालयका उपकुलपति यादव प्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कोरोना महामारीसँग जुधिरहेको समयमा शिक्षण भवनले स्वास्थ्यमा पुर्‍याएकाे सेवा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताउनुभयाे । उहाँले संस्कृत विश्वविद्यालय नेपालको एतिहासिक विश्वविद्यालय रहेकोले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयाे । यो विश्वविद्यालयलाई पूर्वीय दर्शनको अध्ययनको केन्द्र बनाउन सकेमा यसमा रुचि राख्ने विश्वभरका व्यक्तिहरूलाई आमन्त्रण गर्न सकिने भन्दै मन्त्री बर्माले नेपालले त्यसो गर्न नसके पूर्वीय दर्शनको अध्ययन गर्न पश्चिमा देशमा जानुपर्ने स्थिति आउन सक्ने बताउनुभयाे ।  

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री विष्णु पन्थीले शिक्षण अस्पतालले दाङमात्र नभई लुम्बिनी प्रदेशभरका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयाे । 

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. भीमप्रसाद खतिवडाले २०७२ सालपछि निर्माण गरिएको शिक्षण भवनमा तीन वटा ब्लक रहेको जानकारी दिनुभयाे । उहाँले साना–ठूला सबै गरी एक सय आठ वटा कोठा रहेको भवनमा विद्यार्थीको सैद्धान्तिक एवम् प्रयोगात्मक कक्षा तथा प्राध्यापकहरूको कोठा पनि रहेको जानकारी दिनुभयाे । 

२४ करोड ७२ लाख ८३ हजार रुपैयाँकाे लागतमा याे भवनकाे बनेकाे थियाे । बीएएमएसका लागि सबै वर्षको गरी यहाँ दुई सय २५ जना विद्यार्थी अध्ययनरत छन् । 

कार्यक्रममा बीएएमएसमा अध्ययनरत विद्यार्थीले नेपालको संस्कृति झल्कने विभिन्न नृत्य योग प्रदर्शन गरेका थिए । कार्यक्रमपछि राष्ट्रपति भण्डारीले शिक्षण भवन र नेपाल संस्कृत विश्वविद्यालयको भवनको निरीक्षण गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया