‘हुनेलाई पो दसैँ, नहुनेलाई त दशा !’ आर्थिक सहयोग पाएसँगै चेपाङ बस्तीमा छायो खुशी

 असोज २६, २०७५ शुक्रबार १९:३४:१० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बासको लागि खासै गतिलो घर छैन । गाँसको लागि न त आफ्नै पर्याप्त जमिन छ, न त आम्दानीको कुनै भरपर्दो श्रोत नै ।

अधिकांश मेलापात, ज्याला मजदुरी गरी बिहान–बेलुकीको गर्जो टार्छन्, बेसीशहर–११, बरबोट चेपाङटारमा बस्दै आएका चेपाङ वासीहरु । गरिबी, अशिक्षाको भूमरीमा छ, चेपाङ बस्ती । ‘धन हुनेलाई पो दसैँ, नहुनेलाई त दशा !’ उनीहरुलाई यस्तै भएको छ । दसैँ मुखमै आइसक्यो । किनमेलका लागि पैसा छैन, उनीहरुसँग ।

साथमा पैसा नहुँदा वर्षदिनको चाड मनाउन हम्मेहम्मे परेको छ, ६५ वर्षे सुकमान चेपाङलाई । उहाँ निराश हुनुहुन्छ । ऋणधन गरी भए पनि वर्षदिनको चाड खुशीसाथ मनाउने सोचमा हुनुहन्छ, उहाँ । 

दसैँ मनाउनकै लागि अब उहाँले त्यत्ति धेरै ऋण खोज्नुपर्ने अवस्था छैन । किनकी उहाँलाई चाडवाडको मुखमै घरमा आएर बेसीशहर नगरपालिकाले नगद सहयोग हस्तान्तरण गरेको छ । नगरपालिकाबाट उहाँले नगद ६ हजार रुपैयाँ पाउनुभएको छ, दसैँ मनाउन ।    

‘साथमा पैसा थिएन । ऋणधन गरेरै भए पनि दसैँ मनाउने सुरमा थिएँ,’ खुशी हुँदै सुकमानले भन्नुभयो, ‘स्थानीय सरकाबाट ६ हजार सहयोग पाएँ । यसले दसैँ मनाउन भरथेग सहयोग पुग्छ ।’

दसैँ मनाउन आर्थिक सहयोग प्रदान

उहाँ मात्र होइन, दसैँको मुखमै आर्थिक सहयोग पाउँदा सिंगो चेपाङबस्ती नै अहिले खुशी छ । बेसीशहर नगरपालिकाले विपन्न चेपाङ समुदायलाई दसैँ मनाउनका लागि आर्थिक सहयोग प्रदान गरेसँगै उनीहरुमा खुशी छाएको हो । चेपाङबस्तीमा पुगेर नगरपालिकाले दसैँ खर्चस्वरुप ६० हजार रुपैयाँ नगद बाँडेको छ ।

खर्चको अभावमा दसैँ मनाउन समस्या हुने भएकाले बस्तीमै पुगेर उनीहरूलाई धेरथोर आर्थिक सहयोग गरिएको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीका अनुसार चेपाङ बस्तीका १० घरपरिवारलाई प्रतिघर ६÷६ हजार रुपैयाँ दरले आर्थिक सहयोग गरिएको छ । सहयोग आएसँगै बेसीशहर–११, बरबोटकी ५७ वर्षकी हिरामाया चेपाङ निकै खुशी हुनुहुन्छ ।

‘गएको वर्ष ऋण खोजी दसैँ मनाएँ । अहिलेको साल नगरपालिकाको सहयोग पाइयो । अब दसैँ मनाउन ऋण खोज्नु पर्दैन,’ उहाँले सुनाउनुभयो, ‘नगरपालिकाले दिएको ६ हजारले चामल र छोराछोरीलाई कपडा किनिदिन्छु ।’

‘मिठो खान, राम्रो लाउन’ चाड कुनुपर्ने

चेपाङ अभियन्ता अमृता चेपाङका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण मिठो–मसिनो खान, राम्रो लगाउन चाडपर्व नै कुनुपर्ने, चाडवाड मान्न ऋण धन गर्नुपर्ने बाध्यता छ, यस बस्तीमा ।       

‘गाउँलेसँग खासै आम्दानीको स्रोत केही छैन । चाडपर्व मनाउन ऋण खोज्नुको विकल्प छैन,’ उहाँले नरमाइलो मान्दै भन्नुभयो, ‘बिहान–बेलुकीको छाक टार्नै धौ–धौ छ । गाउँघर पुगेर उनीहरुको अवस्था देख्दा नरमाइलो लाग्छ । आँसु झर्छ ।’ चाडवाडले चेपाङ समुदायलाई ऋणको भारी बोकाउने उहाँ बताउहुन्छ । 

‘यसवर्ष नगरपालिकाले सहयोग गरेको छ । दसैँ मनाउन चेपाङ समुदायलाई केही सजिलो पक्कै हुन्छ । ऋणको बोझ कम हुन्छ,’ उहाँले थप्नुभयो । बेसीशहर नगरपालिका–११, बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ घर गरी चेपाङ समुदायको कुल १४ घर छ, लमजुङमा ।

उनीहरुको आर्थिक तथा शैक्षिक अवस्था दयनीय छ ।       
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया