गुर्जा हिमालमा बेपत्ता आरोही टोलीमध्ये ८ जनाको शव भेटियाे (आरोही टोलीको सूचीसहित)

 असोज २७, २०७५ शनिबार ११:५८:३४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी –  म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ ।

गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको घटनास्थल पुगेर फर्किनुभएका प्रत्यक्षदर्शी सोमप्रसाद छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन् भने हिमआँधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको छ । 

गुर्जाखानी गाउँबाट ५ घण्टाको दूरीमा गूर्जा हिमालको बेसक्याम्प पर्दछ । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेको बताउनुभयो । 

दक्षिण कोरियाली ‘किम चाङ हो’ को नेतृत्वमा गएको टोलीमा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन तथा नेपाली नागरिकमा वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे रहेका छन् । अन्य दुई जना भने गाउँकै नागरिक हुन सक्ने बताइएको छ ।

उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर घटनास्थल पुगे पनि अवतरण हुन नसकेको बताउँदै उहाँले घटनास्थल पुगेको टोलीले आफूलाई हेलिकप्टरबाट हेर्दा शवजस्तो देखिएको जानकारी गराएको बताउनुभयो । 

हिमआँधी र हावाहुरीमा परेर बेपत्ता भएका पर्यटकको उद्धारको कार्य जारी राखिएको प्रजिअ अधिकारीको भनाई छ । घटनाको बारेमा जानकारी आएलगत्तै शनिबार बिहानै ताकम प्रहरीचौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार पर्यटकलाई लिएर गएको गाइडले पनि उद्धार गर्न समेत समस्या रहेको बताएका छन् । अप्ठ्यारो ठाउँ र सञ्चारले पनि काम गर्न नसक्ने ठाउँमा दुर्घटना भएको हुँदा शव सङ्कलनमा समस्या रहेको जनाइएको छ । 

हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसै साता मात्रै गुर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।

 
 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया