शनिबारकाे दिन, सरकारी गाडीमा पार्टी कार्यकर्ताकाे दसैंका सामान अाेसारपसार

 असोज २७, २०७५ शनिबार १५:२२:१७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – स्थानीय निकायमा आफ्नो पार्टीको वर्चस्व भएको बेला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राज्यकोषको व्यापक दरुपयोग भएको आवाज सर्वत्र उठिरहेको बेला रामेछापमा पनि सो क्रमले निरन्तरता पाएको छ । 

शनिबार वा सार्वजनिक बिदाको दिन कुनै पनि सरकारी गाडी चलाउन नपाउने निर्णयलाई चुनौती दिँदै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले आफूले चढ्दै आएको सवारीसाधन दुरुपयोग गर्दै आउनुभएकाे हाे । 

शनिबार बिहान उहाँले प्रयोग गर्दै आएको बा १ झ ९४०७ नम्बरको गाडी पूर्व एमाले पार्टी निकट अनेमसंघकी केन्द्रिय सदस्य शान्ता सापकोटालाई निजी सामान लिएर दसैं मनाउनका लागि घर पठाउनु भएकाे थियाे । 

घरमा प्रयोग गर्ने सिरक, डस्ना, चामल, चिउरा लगायतका सामाग्री लिएर सदरमुकाम मन्थलीबाट सापकोटाको रामेछाप नगरपालिका वडा नं–१ गोठगाउँमा रहेको घर जादै गरेको सरकारी गाडी मन्थलीको देवकोटा चोकमा पुगेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि सो कुराको खुलासा भएको हो । 

यसअघि पनि प्रमुख खड्काले विभिन्न समयमा आफ्ना नेता र कार्यकर्ताहरुको सुविधाका लागि काठमाडौं तथा जिल्लाबाहिर र भित्रका विभिन्न ठाउँहरुमा समेत गाडी पठाउँदै आउनुभएकाे थियाे । 

यसका बारेमा सामाजिक सञ्जाल र बाह्य रुपमा पनि व्यापक चर्चा हुँदै आएको थियो । यसपटक पनि प्रमुख खड्काले त्यस कुराको बेवास्ता गर्दै आफ्ना पार्टी निकट अनेमसंघकी केन्द्रीय सदस्य सापकोटाको निजी प्रयोजनको लागि पठाउनु भएकाे थियाे । 

टफिक प्रहरीले गाडी नियन्त्रणमा लिएपछि यस बारेमा व्यापक रुपमा तथ्यहरु बाहिर आएका छन् । कानुनी रुपमा जिल्लाको सबैभन्दा ठूलो सरकारी प्रमुख र जनप्रतिनिधिले सरकारी नियमको बेवास्ता गर्दै देखाएको यस किसिमको रवैयाले जनप्रतिनिधिहरुप्रति सर्वसाधारणको वितृष्णा बढ्न थालेको छ । 

गाडी नियन्त्रणसम्बन्धमा ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले सरकारी नियमको बेवास्ता गर्दै सरकारी गाडी व्यक्तिको सुविधाको लागि प्रयोगमा ल्याउनु दुःखदायी कुरा भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुर्घटना, भवितव्य र सरकारी कामको सिलसिलामा बाहेक विदाको दिनमा सरकारी गाडी चलाउने छुट कसैलाई छैन । तर जिल्ला समन्वय समितिको प्रमुख जस्तो व्यक्तिले चढ्दै आएको गाडी सार्वजनिक बिदाको दिन निजी सामग्रीसहित नियन्त्रणमा लिनुपर्दा मलाई दुःख लागेको छ ।
 
गाडी व्यक्तिगत प्रयोजनमा लैजाँदै गर्दा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्कासँग सम्र्पक गर्दा उहाँले यसबारेमा आफूलाई कुनै जानकारी नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस बारेमा मलाई कुनै पनि जानकारी छैन । गाडी चालकको तजबिजले लगेको हुनसक्छ । यदि यसरी प्रयोगमा ल्याएको हो भने यो गलत काम हो ।’

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया