पत्रकार तेजु खड्काको खोजी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र !

 असोज २८, २०७५ आइतबार १५:२२:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको महिनादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’ को खोजी कार्यका लागि पुनः पहल गर्न नेपाल प्रेस युनियन डोटी शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

नेपाल प्रेस युनियन डोटी शाखामा आबद्ध पत्रकारहरुको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकर्मी साथी तेजु हराएको एक महिनाभन्दा बढी समय बितिसक्यो अत्तो पत्तो छैन, पुनः खोजीका लागि हामीले प्रधानमन्त्री ज्यूलाई ध्यानाकर्षण पत्र पठाएका छौं, पुनः खोजी गरे फेला पर्छन कि ?’

पत्रकारहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले जिल्ला प्रशासनको तर्फबाट पत्रकार तेजु खड्काको खोजीका लागि पहल गर्ने र ध्यानाकर्षणपत्र सिधैँ प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । डोटी घर भई बाजुरको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ‘तेजु’ गएको भदौ ९ गते बाजुराको बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउँबाट एका–एक बेपत्ता भएका थिए । 

दसैँ आउदा समेत आफ्नो घरको सदस्य अहिलेसम्म फेला नपरेको भन्दै उहाँका घर परिवार चिन्तित बनेको पत्रकार तेजुका दाजु जितबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरका मान्छेले केही पत्ता लाग्यो कि भनेर मलाई सोध्छन्, मैले के उत्तर दिउँ, आफैँ अलमलमा छु ।’

पत्रकार खड्का रेडियो नेपाल केन्द्रीय तथा प्रदेश प्रशासरण केन्द्र दिपायलमा पनि कार्यरत थिए ।

अन्तिम अपडेट: चैत २६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया