सरकारलाई पूर्णता दिन सकस, सङ्घ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्ने प्रयास

 चैत ९, २०७९ बिहिबार ७:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ गठबन्धनमा आबद्ध दल सरकारलाई पूर्णता दिनेबारे छलफलमा केन्द्रित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल तीव्र भएको छ ।

सङ्घ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्ने गरी छलफल थालिएको छ । कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । तर भागबन्डा मिलाउन प्रमुख दलहरुलाई सकस पर्ने देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकमा दलबीच तत्काल मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको र चाँडोभन्दा चाँडो सरकारलाई पूर्णता दिने बताउनुभएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भए पनि कुन दललाई कति सङ्ख्या भन्ने तय भइसकेको छैन तर  छलफल सुरु भएको उहाँको भनाइ छ । उहाँले अबको दुई/तीन दिनमा सबै टुङ्ग्याउने गरी छलफल थालिएको बताउनुभयो ।

प्रतिनिधि सभाबाट सोमवार विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रवारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको थियो । तर, मन्त्रालयको सङ्ख्याभन्दा गठबन्धनमा रहेका दलहरुले धेरै मन्त्रालयको दाबी गरेपछि मन्त्रालयको भागबन्डा जटिल बनेको छ ।

कांग्रेसले नौ वटा मन्त्रालय दाबी गरेको छ भने एकीकृत समाजवादीले तीन वटा मन्त्रालयको दाबी गर्दै आएको छ । सरकारलाई समर्थन गरेका अरु दल राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेसपा र आम जनता पार्टीलाई पनि मन्त्रालय दिने गरी प्रधानमन्त्रीको तयारी छ । अहिले प्रधानमन्त्रीसँग १६ मन्त्रालयको जिम्मेवारी छ ।

माओवादी केन्द्र र जनमतमात्रै अहिले सरकारमा छन् । सत्ता गठबन्धनमा सामेल जनमोर्चाले सरकारमा नजाने जनाएको छ । अहिले एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा छन् । गठबन्धनबाट बाहिरिएको एमालेले अहिले सात प्रदेशमध्ये कोशी, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व गरिरहेको छ ।

सुदूरपश्चिमबाहेकको अन्य प्रदेशको मन्त्रिपरिषदमा एमाले संलग्न छ । कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिसकेको हुँदा गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व पाउने सम्भावना छ । माओवादीले बाग्मती प्रदेश र कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । जसपा मधेस प्रदेश सरकारको नेतृत्वमा छ । त्यहाँ जसपा र जनमत पार्टीको आलोपालो गर्ने पूर्वसहमति छ ।

एकीकृत समाजवादीले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको बैठक बोलाएको छ ।  लोसपाको आज बस्ने बैठकमा उपचुनाव तथा सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया