रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
भक्तपुर - जात्रा, पर्व र मेलामा भक्तपुरका नेवार समुदायका युवतीहरुमा बाजा बजाउने आकर्षण बढ्दै गएको छ ।
नेवारी बाजाहरुको मीठो धून बजाउँदै युवतीहरु मेला र जात्रामा सहभागी हुने क्रम बढ्दै गएको छ । दसैंका अवसरमा भक्तपुरमा लाग्ने नवरात्री मेलामा पनि युवतीहरुले बाजा बजाएर बाजाप्रतिको मोह र आकर्षणलाई पुष्टि गरेका छन् । मेलामा आउँदा पुरुष मात्रै नभई युवतीहरु पनि धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै आउने विभिन्न टोलहरुमा देखिएको छ ।
भक्तपुरमा दसैंको घटस्थापनादेखि दशमीको बिहानसम्म यहाँका विभिन्न नौ वटा शक्तिपीठमा लाग्ने मेला भर्न भक्तपुरका टोलटोलबाट बाजागाजासहित आउने परम्परा धान्न युवतीहरु पनि अग्रसर हुने गरेका हुन् ।
केही वर्षअघिसम्म पुरुषले मात्रै बाजाहरु बजाउने गरे पनि पछिल्लो समयमा यसमा युवायुवतीको पनि सहभागिता बढ्दै गएको भक्तपुर तचपालका रबिन श्रेष्ठले बताउनुभयो ।
जात्रामा एउटै टोलबाट पनि दर्जनौँ बाजागाजासहितको टोली मेला भर्न शक्तिपीठ आउँदा धेरै रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् । भक्तपुरमा घटस्थापनादेखि दशमीको बिहानसम्म रातभरि बाजागाजाका धूनले गुञ्जायमान हुने गरेको छ ।
बाँसुरी बाजा बजाउने रश्मिला छुस्यावागले बाजा बजाउँदा आनन्द आउने मात्र नभई संस्कृति पनि जोगिने भएकाले पनि युवा पुस्ताको आकर्षण बाजामा बढेको बताउनुभयो । उहाँले बाजा बजाउँदै मन्दिर जाँदा धेरै आनन्द आउने बताउनुभयो ।
झ्याली बाजा बजाउँदै मन्दिर जाँदै गरेकी कमला कवांले तालीम लिएर बाजा बजाउन सिकेको बताउँदै अरू दिदीहरुले बाजा बजाएको देखेर रहर लागेपछि तालीम लिएको भन्नुभयो । अहिले युवतीको टोली नै जात्रा पर्वमा बाजा बजाउने गरेको उहाँ बताउनुहुन्छ ।
धिमे बजाउन पोख्त भक्तपुर नासमनाकी सुनिता श्रेष्ठले पनि धिमे र बाँसुरी बजाउँदा आफूलाई निकै आनन्द आउने गरेको बताउनुभयो । उहाँका अनुसार जात्रा, पर्वमा मात्रै नभई अचेल विभिन्न कार्यक्रममा समेत बाजा बजाउन बोलाउने गरेका छन् ।
आम्दानीको स्रोतका रुपमा समेत लैजान सकिने यी बाजाहरु बजाउँदा युवा पुस्ताको हातबाट संस्कृतिको संरक्षण भइरहेको अनुभूति हुने पनि उहाँको भनाईछ ।
भक्तपुर र मध्यपुरथिमि नगरपालिकाले युवा पुस्तालाई लक्षित गरी यस्ता बाजाहरुको तालीम सञ्चालन गर्दै आएको छ भने टोलटोलका गुठी तथा सहकारी र सङ्घसंस्थाले पनि तालीम दिन थालेपछि बाजाप्रति युवायुवतीको आकर्षण बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।