वैदेशिक रोजगार बोर्ड र बिमामार्फतको आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न मन्त्रालयको अनुरोध

 चैत २४, २०७९ शुक्रबार १५:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कोही पनि बिचौलियाको भर नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकम पछिल्लो समय बिचौलियाहरू ठगी गर्ने गरेको भन्दै मन्त्रालयले बोर्ड र बिमामार्फत पाउने रकम लिन कसैको पनि भर र दबाबमा नपर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिचौलियाहरूले अनावश्यक हस्तक्षेप गर्दा पाउनु पर्ने पूरा रकम परिवारका सदस्यले नपाएको गुनासो बढेको र यदि कोही कसैले त्यस्तो प्रलोभनमा पारेर ठगी गरेमा मन्त्रालयमा सिधै जानकारी गराउन मन्त्रालयका सचिव एक नारायण अर्यालले आग्रह गर्नुभयो । 

‘कानुन अनुसार बिमा र बैदेशिक रोजगार बोर्डमार्फत पाउने रकम लिन कसैको पनि भर पर्न पर्दैन, आफ्नो पालिकाबाटै त्यसका लागि निवेदन दिन सकिन्छ’ सचिव अर्यालले भन्नुभयो ‘कोही कसैले यस्तो कार्य गरेमा श्रमाधान कल सेन्टरमा फोन गरेर जानकारी दिनुहोस् हामी कारबाही गर्छौँ ।’

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीकै सिलसिलामा श्रम स्वीकृतिको अवधि सकिएको एक वर्ष भित्र कोही कसैको ज्यान गएमा वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ र म्यादी जीवन बिमाबाट १४ लाख रुपैयाँ आर्थिक सहायता पाइन्छ ।

यस्तो रकम नजिकको हकवाला अर्थात् मृतक श्रमिकको श्रीमान्, श्रीमती वा नजिक एकाघरको नाताको खातामा पठाइने व्यवस्था छ । यस्तो आर्थिक सहायताका लागि आफ्नो पालिकाको सिफारिसमा पालिकाबाटै बोर्ड निवेदन पठाउन मिल्छ । त्यसका लागि कोही कसैको भर पर्न पर्दैन ।

साथै श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षपछि कोही श्रमिकको रोजगारीको सिलसिलामा ज्यान गएमा बोर्डले मृतक परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउँछ । यो आर्थिक सहायता लिन कोही सकैलाई भनसुन गर्न पर्दैन ।

विदेशबाट शवसँग आएका कागजातसहित मृत्यु दर्ताको प्रमाणपत्र, पालिकाको सिफारिस लगायतका कागजात आवश्यक पर्छ । यो कागज आफ्नो पालिकाबाट सहजै बनाउन सकिन्छ । तर पनि केही बिचौलियाहरूले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेकोजस्तो गरेर पनि रकम ठगी गर्ने प्रवृत्ति बढ्दो छ । 

यस्तो समस्या आफैँलाई परेमा वा नजिकका आफन्तले भोग्न परेमा १६६००१५०००५११४१ नम्बरमा फोन गर्न सकिन्छ भने विदेशबाट अथवा शःशुल्क ९७७१५९७०००८ नम्बरमा वा भाइवर र इमोमा कल तथा म्यासेज ९८०१८०००१३, ९८५११८०९५९ नम्बरमा गर्न सकिन्छ ।

कोही सबैले यस्तो कार्य गरेमा वा संलग्न भएमा कडा कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया