विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकममा ठगी, ६ जना पक्राउ

 चैत २४, २०७९ शुक्रबार १५:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकम ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार नेपाल प्रहरीको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

प्रहरीले चैत २३ गते दिउँसो काठमाण्डाैकाे गोङ्गबुबाट रामबहादुर तामाङसमेत छ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको काठमाण्डाै उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिनुभयाे । उहाँले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारी उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताउनुभयो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककाे रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीकाे लालबन्दी नगरपालिका–८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका–२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताउनुभयो । उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाण्डाैमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताउनुभयो । उहाँकाअनुसार गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिकाे शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया