वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको बिमा रकममा ठगी गर्ने थप दुई जना पक्राउ

 चैत २६, २०७९ आइतबार १८:२०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – वैदेशिक रोजगारीका क्रमममा ज्यान गुमाएका श्रमिकको बिमा रकममा ठगी गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भइ हाल काठमाण्डौ बस्दै आएका वैदेशिक रोजगार बोर्डका नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका–४ का सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ । 

यस गिरोहमा संलग्न ६ जनालाई प्रहरीले गएको शुक्रबार नै पक्राउ गरेर शार्वजनिक गरिसकेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका–८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका–२ का ३९ वर्षीय रुद्रमान गोलेलाई काठमाण्डौको गोंगबुबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये रामबहादुर तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारेको थियो । उनीहरुमाथि पनि जिल्ला प्रहरी परिसर टेकुले थप अनुसन्धान गरिरहेको छ । 

काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीका अनुसार विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्ने यस  गिरोहले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्दै आएका थिए ।

उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाण्डौमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको उहाँको भनाइ छ । उहाँकाअनुसार गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन समेत दिने गरेका थिए ।

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया