अतिथिलाई पिपलको पातकाे ब्याज र कोदोको पुवा नास्ता

 चैत २७, २०७९ सोमबार १९:४७:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – धेरैजसो कार्यक्रममा अतिथिलाई दिने ब्याज कागजबाट बनेकाे हुन्छ, ब्याजमा रिबनको फुर्का पनि हुन्छ । तर दाङको तुलसीपुर होटल व्यवसायी समितिले भने अतिथिलाई दिने ब्याजका लागि पिपलको पात प्रयोगमा ल्याएको छ ।

स्थानीय स्तरमा पाइने पिपलको पात वातावरणमैत्री हुने भएकाले पनि कार्यक्रममा अतिथिलाई ब्याजकाे रूपमा पिपलको पात र फूलको प्रयोग गरिएको समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो । ‘पिपलको पात सहजै पनि पाइन्छ, खर्चको व्ययभार पनि कम गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘आउँदा दिनमा पनि तुलसीपुर होटल व्यवसायीले कार्यक्रममा ब्याजकाे रूपमा पिपलको पात प्रयोगमा ल्याउने छ ।’

होटल व्यवसायी समितिले आज सोमवार नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पिपलको पात ब्याजकाे रूपमा प्रयोग गरेको हो ।

बजारमा पाइने ब्याजमा खर्च धेरै हुने भएकाले पनि पिपलको पात प्रयोग गरेर खर्चमा मितव्ययिता अपनाएको अध्यक्ष बस्नेतले बताउनुभयो । प्लास्टिक र कागजको ब्याजमा हुने खर्च कटौती गरिएको उहाँको भनाइ छ ।

समितिले ब्याजमा मात्रै मात्रै नभई नास्तामा समेत स्थानीय रैथाने बालीको प्रयोग गरेको छ । समितिले तुलसीपुरमा भएकाे कार्यक्रममा अतिथिलाई कोदोको पुवा, आलु र भाङ्गाको अचार अनि मोही दिएको थियो ।

स्थानीयस्तरमा पाइने रैथाने बालीको प्रयोग गरी खाजा बनाएको सचिव तुफान केसीले बताउनुभयो । ‘स्वाद सबैकाे एउटै नहुन सक्छ तर स्वास्थ्यका लागि हित हुने रैथाने नास्ताको प्रयोग गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यसअघि रैथाने खानाको महोत्सव पनि सञ्चालन गरेका थियौँ, अहिले पनि कार्यक्रममा कोदोको पुवासहित आलु र भाङ्गाको अचार अनि मोही खुवाएका छौँ ।’

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया