वैदेशिक रोजगारीबाट फर्किएकालाई पालिकास्तरमै उद्यमी बनाउने पुनः एकीकरण कार्यक्रम कार्यान्वयनमा

 चैत २८, २०७९ मंगलबार १४:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरूसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकाहरूसँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुवात गरेको बोर्डले जनाएको छ । 

बोर्डका निर्देशक रामा भट्टराईका अनुसार सातै प्रदेशका विभिन्न ८१ पालिकाहरूसँग कार्यक्रम सञ्चालनका लागि बोर्डले सम्झौता गरिसहेको छ । पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि बाग्मती प्रदेशका २१ वटा पालिकाले बोर्डसँग सम्झौता गरिसकेका छन् भने मधेश प्रदेशका १६ वटा पालिकाले यो कार्यक्रम गर्नका लागि बोर्डसँग सम्झौता गरेका छन् । 

यस्तै कोशी प्रदेशका १३ वटा, गण्डकी प्रदेशका १४ वटा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरी १८ वटा पालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दै छन् । 

यो कार्यक्रमबाट वैदेशिक रोजगारीबाट फर्किएका तीन हजार जना युवा लाभान्वित हुने बोर्डका निर्देशक भट्टराईले जनाकारी दिनुभयो ।

पुनः एकीकरण कार्यक्रममा लागि वैदेशिक रोजगार बोर्डले यस चालु आर्थिक वर्षमा १५ करोड २५ लाख रुपैयाँ रकम छुट्टाएको छ । यही बजेट अनुसार कार्यक्रम गर्नका लागि बोर्डले सुरक्षित आप्रवासन सामी कार्यक्रम लागू भएका देशका ३९ जिल्लाका पालिकाहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

जसमध्ये पालिकाहरूले २४ हजार जनालाई यो कार्यक्रममा सहभागी गराउने गरी ४३ करोड रुपैयाँ रकम माग गरेका थिए । तर बोर्डले यो कार्यक्रम सञ्चालनका लागि छुट्टाएको रकम अनुसार पहिलो चरणमा निश्चित पालिकामार्फत थोरै सङ्ख्यामा यो कार्यक्रम लागू गरिएको बोर्डको भनाई छ ।

बोर्ड र पालिकासँग भएको सम्झौता अनुसार पालिकाले यो आर्थिक वर्षमा कति जनालाई पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने हो त्यस अनुसार बोर्डमार्फत रकम पाउनेछन् । 

‘हामीले प्रस्ताव पेस गरेका पालिकाहरूलाई मापदण्डअनुसार ग्रेडिङ गरेर छनौट गरेका हौँ, जसअनुसार एउटा पालिकाले कम्तीमा आठ लाख रुपैयाँ र बढीमा यसको तीन गुणासम्म रकम पाउनुहुने छ’ बोर्डका निर्देशक भट्टराई भन्नुहुन्छ ‘प्रतिव्यक्ति सरदर ४३ हजारका दरले हामी रकम उपलब्ध गराउँछौँ, यसबाट पालिकाले ८ हजार चाहिँ सीप तालिम विकासमा खर्च गर्न पर्ने छ भने ३५ हजार रुपैयाँ बिउँ पुँजीको रूपमा उपलब्ध गराउने छ ।’

पालिकाहरूले आफ्नो पालिकास्तरको आवश्यकता र चाहना अनुसार आफूले गर्ने कार्यक्रमसहित बोर्डमा प्रस्ताव पेस गरेका छन् । बोर्डबाट विनियोजन भएको रकममा धेरैजसो पालिकाले ५० प्रतिशत रकम थप गरेर कार्यक्रम सञ्चालन गर्ने सहमति भएको पनि बोर्डले जनाएको छ । 

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार बोर्डबाट फर्किएकाको लागि पहिलो पटक पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम सञ्चालनका लागि बोर्ड छुट्टै निर्देशिका नै ल्याएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया