आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियो : प्रधानमन्त्री प्रचण्ड

 बैशाख १, २०८० शुक्रबार १०:५३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएको छ ।

शुक्रवार आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताउनु भयो ।

उहाँले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गर्नुभयो । उहाँले वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको बताउनु भयाे । 

उहाँले जिम्मेवारी बोध गरी सङ्घर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारलाई जनमुखी बनाउने, नागरिकको आशा अनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताउनु भयो । 

प्रधानमन्त्री प्रचण्डले आउँदा दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताउनु भयो । उहाँले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताउनु भयो । उहाँले पार्टी नागरिकमा नजानु भनेको नेताहरुको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अब नेताहरुको समर्थन लिएर नेताको सहयोगले नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्छ, नेतृत्वलाई प्रेसर गर्ने, त्यसपछि हामी पनि त्यस्तै भइयो । यसले पार्टी बनेन । नागरिकतिर गएन, पार्टी तल गएन, माथि फर्कियो, यसले पार्टी नागरिकबाट कट्यो । कार्यकर्ताको मन जित्ने नै नेता हुने प्रणालीतिर जानुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अनिल सुवेदी

    April 14, 2023, 3:26 p.m.

    नेपालको जनआन्दोलनको समयमा नेपाल भन्दा कम विकसित मुलुकहरु अहिले कति माथि पुगिसक्यो हाम्रो देश भने दिन प्रतिदिन झनझन खस्कँदो छ आन्दोलनबाट प्राप्त उपलब्धिको फाइदा भनेको नेताहरुलाई मात्र हो जनतालाई त उही पुरानै दुःख मात्रै छ

  •  0 Reply

तपाईको प्रतिक्रिया