आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार हुँदै, परराष्ट्र मन्त्रीमा कांग्रेसका एनपी साउद

 बैशाख ३, २०८० आइतबार ७:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट एनपी साउदको नाम दिए पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । साउदबाहेक कांग्रेसबाट अरु नाम आएको छैन । अन्य दलबाट पनि मन्त्री बन्नेको नाम आउन बाँकी रहेकाले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आशङ्का छ ।

दलहरुले नाम दिए छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । उपचुनाव पछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । यसअघि सत्तारुढ गठबन्धनमा आउँदो १० गतेको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणको तयारीका कामहरु रोकियो भनेकाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा अहिले ६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा रहेको छ । नेकपा एमालेसँगको सहकार्य टुटेपछि प्रधानमन्त्री प्रचण्डले गएको चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनु भएको थियो ।

विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गठबन्धन दलहरुबीच कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भइसकेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा हिजो सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया