रामेछाप दुर्घटना अपडेट: ९ मध्ये ५ घाइतेकाे अवस्था गम्भीर, सेनाकाे अस्पतालमा उपचार हुँदै

 कात्तिक ४, २०७५ आइतबार १९:८:१३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – शनिबार बेलुका मन्थलीबाट रामेछापकै गोठगाउँतिर आउँदा भएको बलेरो जीप दुर्घटनामा घाइते भएका ९ मध्ये ५ जनाको अवस्था गम्भीर भएको छ । उनीहरुकाे काठमाडाैंको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।
   
दशैंको टिका लगाएर मन्थली नगरपालिका वडा नं–४ सालुको कुकुरकाटे भन्ज्याङ्गवाट रामेछाप नगरपालिका वडा नं–१ गोठगाउँ तर्फ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको बलेरो जीप रामेछाप नगरपालिका वडा नं–२ को देउरालीको खरानेटारमा दुर्घटना भएको थियो ।

बलेरो जीप सडकबाट करिव ३ सय मिटर तल पल्टँदा गाडीमा सवार २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने जिप चालकको उपचारको क्रममा काठमाडौं लैजाँदा  बाटोमा मृत्यु भएको थियो ।
    
मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नं १ का आमा वर्ष ६० की ललिमाया कार्की र उनका छोरा वर्ष ४० का दुर्गावहादुर कार्की र गाडी चालक ४० वर्षीय का हेमवहादुर खत्री रहेका छन् । 

अन्य गाडीमा सवार मध्ये रामेछाप नगरपालिका वडा नं १ का नारायण सापकोटा, उनकी श्रीमती शान्ता सापकोटा, छोरी निर्जला सापकोटा, निरुता सापकोटा र छोरा सार्थक सापकोटा घाइते भएका  थिए ।

यी सबै घाइतेहरुको अवस्था गम्भीर रहेकाले काठमाडाैंको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । 

बाँकी घाइते हुनेमा त्यसै वडाकी उषा कार्की र युनिषा कार्की रहेका छन् भने रामेछाप नगरपालिकाका वडा नं १ का गोरे वि.क.रहेका छन् । 

उनीहरुको उपचार काभ्रेको धुलिखेल अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

गाडीमा ९ जनाको सिट क्षमता भएता पनि ११ जना यात्रुहरु कोचाकोच गरेर लगिएको थियो । 

घटनास्थलबाट जीप करिव ३ सय मिटर तल भिरमा खसेकाले उद्धार गर्न केही समस्या भएको  भएको थियो । तर जिल्ला प्रहरी कार्यालय मन्थलीवाट पुगेको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा समयमा न उद्धार गरिएको थियो । 

घटनाको जानकारी पाएसँगै मन्थलीवाट प्रहरी निरीक्षक शेख अदालतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया