विद्यालयमा राजनीतिक गतिविधि बन्द गरियाेस्: विराजभक्त श्रेष्ठ

 बैशाख १५, २०८० शुक्रबार १८:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ सङ्गठनको गतिविधि बन्द गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले शैक्षिक संस्थामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका गतिविधि बन्द हुनुपर्ने बताउनुभएको हो । उहाँले माध्यमिक तहको विद्यालयमा दलहरूले गर्ने गतिविधि बन्द नभएमा त्यहाँ पनि विद्रोह हुने चेतावनी दिनुभयो । उहाँले राजनीतिक दलहरूलाई विद्यालयमा भातृ सङ्गठनहरुको राजनीति बन्द गराउन अनुरोध पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचलित शिक्षा ऐन र नियमावली विपरीत राजनीतिक दल र भ्रातृ सङ्गठनका गतिविधि गरेको भन्ने कुराको हामीलाई ध्यानाकर्षण भएको छ । विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन भनेर सबै राजनीतिक दललाई निवेदन गर्न चाहन्छु । भ्रातृ सङ्गठनलाई राजनीतिक दलले अहिले नै सु–संस्कृत तरिकाले सम्झाएर विद्यालयमा राजनीति बन्द गर्नका लागि अनुरोध पनि गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले सरकारी निकायमा घुसविना कुनै पनि काम हुन नसक्ने अवस्था रहेको भन्दै बेथितिको अन्त्यका लागि राज्यले कडा कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले सरकारी निकायमा सीसीटीभी क्यामरा जडान गर्नुपर्ने बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले पैसा बाँड्ने कार्यविधि पारित गरेको भन्दै त्यसको विरोध गर्नुभयो । उहाँले सरकारले याे कार्यविधि तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशको शिक्षा क्षेत्र राजनीतिले जर्जर बनाएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले पृथ्वी लोकमार्ग jlस्तारको क्रममा तनहुँको घाँसी कुवालाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य स"र्यबहादुर थापा क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार भइरहेको विषय सरकारले सदनमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपालको पुँजी बजार (शेयर बजार) विगत २० महिनादेखि निरन्तर घट्दो अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले बाँकी रहेका शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउनका लागि सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । 

शून्य समयमा बोल्ने अन्य सांसदहरूले पनि समसामयिक विषयममा आफ्नो धारणा र आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा देखिएको अवरोधहरूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया