डोटी भूकम्पको ६ महिना : क्षतिग्रस्त संरचना पुनर्निर्माणमा सरकारको बेवास्ता

 बैशाख १८, २०८० सोमबार २०:२६:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा भूकम्प गएको छ महिना बितिसक्दा समेत भूकम्पले क्षतिग्रस्त भएका संरचना मर्मत र पुनर्निर्माणमा सरकारको ध्यान पुगेको छैन । यहाँका कैयौँ भूकम्प पीडित अहिले पनि त्रिपालमुनि र केही पीडित जोखिम मोलेर भत्किएकै घरमा बस्न बाध्य छन् । क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माणका लागि सरकारी क्षेत्रबाट पहल नचालिँदा पीडित समस्यामा छन् ।

गएको कात्तिक २३ गते राति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पले पु¥याएको क्षतिको विस्तृत तथ्याङ्क सङ्कलन गर्न पुनर्निर्माण प्राधिकरणको टोली प्रभावित क्षेत्रमा पुगेका बेला बाजुरामा पनि भूकम्प गयो । त्यसपछि प्राधिकरणको टोली बाजुरा गयो । डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले प्राविधिक अध्ययनको काम बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पले क्षति गरेको तथ्याङ्क आएको छ, तर पुनर्निर्माणको काम भएको छैन । प्राधिकरण र पालिकाका प्राविधिकहरूले काम गर्ने हो । उहाँहरूले सक्नुभएको छैन ।’ 

भूकम्पले क्षति पुर्याएको संरचनाको पालिकाले प्राविधिक अध्ययन गर्ने र पुननिर्माणका लागि सङ्घ सरकारले पाँच लाख रुपैयाँ दिने उपाध्यायले बताउनुभयो । भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्नुका साथै स्थानीय प्राविधिकहरूलाई अभिमुखीकरण गर्न प्राधिकरणको टोली सुदूरपश्चिमका पहाडी जिल्ला पुगेको थियो । विस्तृत अध्ययनका लागि प्राधिकरणबाट १३ जनाको जियोलोजिस्ट, हाइड्रोलोजिस्ट, स्ट्रक्चलर इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, सिभिल इन्जिनियरसहितको टोली प्रभावित क्षेत्र पुगे पनि विवरण सङ्कलन भएको छैन ।

कात्तिक २३ गते गएको भूकम्पमा परि डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका छ जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए । भूकम्पबाट आठ वटा घरमा पूर्ण क्षति पुगेको थियो भने दर्जनौँ घरमा आंशिक क्षति पुगेको थियो । भूकम्प पीडित अहिले त्रिपाल, अस्थायी घर तथा आंशिक क्षति भएका घरमै बसिरहेका छन् । डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार उनीहरूका लागि रेडक्रस, पालिका तथा विभिन्न सङ्घ–संस्थाहरूले अस्थायी संरचना बनाएका छन् तर सरकारले गर्ने पुनर्निर्माणका लागि भने अझै समय लाग्ने देखिएको छ ।

यस्तै गएको माघ ५ गते छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्द भएर गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पको पनि क्षतिको विवरण सङ्कलन भएको छैन । यस भूकम्पमा गौमुल गाउँपालिका–२ का एक जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए । जिल्लाका आठ पालिकाका ६० वटा घरमा पूर्ण क्षति, ५९ वटा घरमा आंशिक क्षति पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया