देश क्रमशः सुधारतर्फ छ, कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिनेछ : प्रधानमन्त्री प्रचण्ड

 बैशाख २०, २०८० बुधबार १९:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताउनुभएको छ ।

आज बुधवार बेलुकी काठमाण्डाैमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित 'गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त' पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालकोभन्दा राम्रो नतिजा देखिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जति बेला म दोस्रो पटक प्रधानमन्त्री थिएँ । त्यति बेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो । संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए । मधेस आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन । सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो । तर निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो ।’

उहाँले थप्नुभयो, ‘सङ्घीयताको सफल अभ्यास गरियो । पालिकादेखि केन्द्रसम्मका चुनाव भए । आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए । अर्थतन्त्रमा राम्रो सुधार आयो । ७ दशमलव ५ अङ्कको आर्थिक वृद्धिदर हासिल गरियो, विद्युतभार कटौती अन्त्य भयो । ठूला आयोजनामा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो । यस पटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ ।’

देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ । तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु ।’

अयोधीप्रसाद यादवको जीवनीबारे उहाँले भन्नुभयो, ‘मधेस आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँ एकदम इमानदार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको चुनाव गर्न सजिलो थिएन । तर उहाँले गराउनुभयो । पुस्तकमा उहाँले जे–जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरु इमानदारिता छ ।’

लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव, लेखक डा. यादवलगायतका वक्ताले पुस्तकका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया