डाेटीकाे बडीकेदार–५ मार्काेटमा साेलार मिनिग्रिड जडान, २ सय ९० घरधुरी लाभान्वित

 बैशाख २९, २०८० शुक्रबार २०:६:३३ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीको बडीकेदार गाउँपालिका–५ मार्कोटमा सोलार मिनी–ग्रिड जडान भएको छ । वर्षाैँदेखि सल्लाको झरो, टुकी बालेर अन्धकारमा बस्दै आएका स्थानीयवासी अहिले एक सय किलोवाट क्षमताको सोलार मिनी ग्रिडबाट बत्ती बाल्न पाएपछि खुसी भएका छन् ।

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको सात करोड १२ लाख र बडीकेदार गाउँपालिकाको ७९ लाख गरी सात करोड ९१ लाख ९३ हजार छ सय ३५ रुपैयाँको लागतमा टपसान इनर्जी प्रालिले मार्कोट सौर्य मिनी ग्रिड जडान गरेकाे हाे ।

मार्कोटमा स्थापना गरिएको मिनी ग्रिडबाट त्यस क्षेत्रका दुई सय ९० घरधुरीमा बत्ती बलेकाे टपसान इनर्जी प्रालिले जनाएको छ । मिनी ग्रिडबाट बडीकेदार–५ काे मार्कोट, बस्तोला, थानकोट, गडीगाउँ, कुन्थला, धमिगाउँ, सुनडालगायत गाउँमा सोलारबाट बिजुली जडान गरिएको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले जानकारी दिनुभयो ।

सोलार मिनी ग्रिडबाट बत्ती बलेपछि व्यापार व्यवसाय गर्न सहज भएको बडीकेदार–५ का पूर्व वडाध्यक्ष बुद्धिसागर बिनाडीले बताउनुभयाे । स्थानीय लघु विद्युत् उत्पादन नभएकाे याे गाउँपालिकामा अहिलेसम्म राष्ट्रिय प्रसारण विद्युत् लाइनले छाेएकाे छैन ।

याे पालिकाकाे वडा नम्बर ५ लानाका धेरैजसाे बस्ती अझै पनि अन्धकार रहेकाले तत्काल विद्युत् विस्तार गर्न स्थानीयवासीको माग छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया