आन्तरिक सडकको अवस्था हेरेर मात्र गाडी सञ्चालन गरिने

 कात्तिक ७, २०७५ बुधबार ८:२७:४२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाका गाउँ–गाउँमा ट्रयाक खोलिएका नयाँ सडकको अवस्था हेरेर मात्र जीप तथा बस सेवा सञ्चालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पामा जिल्लाका यातायात व्यवसायी र सरोकारवालाहरुबीच छलफल गरी नयाँ ट्रयाक खोलिएका सडकमा ठूला बस सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले अवस्था हेरेर यातायातका साधन सञ्चालन गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीको संयोजनमा भएको छलफलमा स्तरोन्नति गर्नुपर्ने सडकलाई स्थानीय सरकारसँग समन्वय गरी मर्मत गर्न अनुरोध गर्ने र ग्रामिण सडकमा चल्ने गाडी भाडामा एकरुपता ल्याउने समेत निर्णय गरिएको छ ।

त्यसका लागि एउटा उपसमिति बनाई उक्त समितिले रोल्पाका आन्तरिक रुटको अनुगमन÷अवलोकन गरी कस्ता गाडी सञ्चालन गर्ने र कति भाडा कायम गर्ने भन्ने बारेमा प्रतिवेदन तयार पार्ने भएको छ ।

सो प्रतिवेदन कार्यान्वयनका लागि फेरि यातायात व्यवसायी र सरोकारवालाबीच छलफल गरी कार्यान्वयन गर्ने बताइएको छ । अहिले रोल्पा सदरमुकाम लिबाङदेखि विभिन्न स्थानका १४ वटा आन्तरिक रुटमा साना गाडीहरु सञ्चालन भइरहेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया