सचिवालय बैठकमा वामदेवले भने : अरुले उठीउठी टीका लाउँदा उसले घुँडा टेक्याछ(भिडियोसहित)

 कात्तिक ८, २०७५ बिहिबार १७:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको बैठकमा पार्टीभित्रको विवादका विषयमा मात्रै छलफल भएन । बैठकमा दसैँको दिन राष्टपतिले लगाइदिएको टीकाको विषयले समेत प्राथमिकता पायो । 

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले राष्टपतिले लगाइदिएको दसैँको टीकाको विषय उप्काउनु भएको थियो ।  

सबैले उठीउठी टीका लगाउन हुने तर उसले (पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीलाई संकेत गर्दै) घुँडा टेकेरै लगाउनु पर्ने भन्दै उहाँले आफ्नो भनाई राखिरहँदा बैठकमा रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालले हो भन्दै सहमति जनाउनुभयो । 

बैठकले प्रदेश कमिटीका सदस्य चयन र केन्द्रीय सदस्यहरुको कार्य विभाजनका लागि भन्दै समिति गठन गर्ने निर्णय गरेसँगै नेताहरुबीच भएको संवादमा यस कुराले प्रवेश पाएको थियो ।  

सामाजिक सञ्जालमा राष्ट्रपतिले दसैँको बेला लगाइदिएको टीकाको व्यापक विरोध भइरँदा समेत सार्वजनिक रुपमा बचाउ गर्दै आएका नेकपाका नेताहरुले भने गोप्य रुपमा चल्ने सचिवालय बैठकमा यस विषयमा छलफल गरेको भिडियो सार्वजनिक भएको छ । 

सामाजिक सञ्जालमा राष्ट्रपतिले यसबारेमा नै सार्वजनिक धारणा व्यक्त गर्नुपर्ने माग  उठिरहेको छ । तर नेकपाले दसैँको टीकाका विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन नहुने जनाउँदै आएको थियो ।  

विवाद बढ्दै गएपछि नेकपाको सचिवालय बैठकमै बिहीबार यस विषयले प्रवेश पाएको हो । राष्ट्रपतिसँग दसैँको टीका लगाउन जाँदा स्वयं वामदेव गौतमले पनि उभिएरै टीका लगाउनुभएको थियो । आफूलगायत अन्यले समेत उभिइउभिई टीका लगाएको भए पनि पूर्व प्रधानन्यायाधीश पराजुलीले भने टीका लगाउँदा घुडा टेकेको विषयले चर्को विवाद निम्त्याएपछि उहाँ आफैले यो विषय बैठकमा निकाल्नुभएको हो । 

बाहिरिएको भिडियोमा राष्ट्रपतिले लगाइदिएको टीकाका बारेमा धेरै कुरा गरिएको भए पनि अन्य कुराहरु भने बुझिएको छैन । बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समेत वामदेव गौतमको कुरामा टाउको हल्लाएर सहमति जनाएका थिए । 

वामदेवले के भने हेर्नुहाेस् भिडियाे

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया