बुटवल ब्लास्टर्सले पनि ल्यायो दुई विदेशी खेलाडी

 कात्तिक ८, २०७५ बिहिबार १७:५७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ - पाेखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ । 

पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले यूएर्इबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मार्की प्लेयर रहेको बुटवलले दुई विदेशी कोटामा रोहन मुस्तफा र चिराग सुरीलाई क्लबमा अनुबन्ध गरेको हो ।

यूएर्इका खेलाडी राेहन मुुस्तफा

प्रतियोगिताका लागि क्लबले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुधबार चितवनले पनि भारतका दुई खेलाडी क्लबमा अनुबन्ध गरेको थियो । 

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता भोलिदेखि सुरु भई यही कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

यूएर्इका खेलाडी चिराग सुरी

बुटवल ब्लास्टर्सको स्वामीत्व रामबहादुर विष्टसहितको व्यावसायीको युवा टोलीकाे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् । 

पीपीएलमा बुटवल ब्लास्टर्सले पहिलो खेल कात्तिक १० गते चितवन राइनोजसँग खेल्नेछ । दोस्रो खेल कात्तिक ११ गते पोखरा पल्टनसँग, कात्तिक १४ गते विराटनगर टाइटन्ससँग, १५ गते धनगढी र १६ गते हुलास काठमाडौँसँग खेल्नेछ ।

विजेताले २७ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको बैंकिङ पार्टनर नबिल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया