गण्डकी सरकारकाे नीति तथा कार्यक्रम : पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउने (पूर्ण पाठ)

 जेठ २१, २०८० आइतबार १८:५०:३० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आइतवारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषिमा जोड दिएकाे छ । नीति तथा कार्यक्रममा गण्डकी सरकारले क्यान्सर पीडित बिरामीलाई थप एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप एक लाख सहयोग गर्ने प्रदेश प्रमुख गुरुङले बताउनुभयाे । यस्तै ६० वर्षमाथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याब परीक्षण निःशुल्क गर्ने कार्यक्रम ल्याइएको छ । 

मुटुरोगका बिरामीलाई डायलासिसमा पालो कुर्नपर्ने अवस्थालाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । अस्पतालबाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने सरकारले घोषणा गरेको छ । 

कृषिमा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका आधारमा सहुलियत दिनेलगायतका कार्यक्रम रहेका छन् । त्यसैगरी गण्डकीमा विद्यार्थीको बहुप्रतिभाको पहिचान गर्न 'फ्राइडे फर फ्युचर' कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थीका शैक्षणिकबाहेक अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा पहिचान कार्यक्रम आयोजना गर्न लागिएको हो । यस्तै प्रदेशभित्रका सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा एक निर्वाचन क्षेत्र एक सडक, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण, मुस्ताङमा हाई अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औँ पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, राजनीतिक दलहरूले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम आएकाे सरकारले जनाएको छ ।

प्रदेश सरकारले पहिलो पाँच वर्षे कार्यकाल पूरा गरी छैटौँ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको हो । रोजगारी, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर प्रदेशवासीले महसुस गर्ने गरी नीति तथा कार्यक्रम आएकाे सरकार पक्षका नेताहरू बताउँछन् । विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले भने केन्द्र सरकारको जस्तै हुबहु नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिनुभयाे ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया