आज पनि तराईमा तातो हावा, चितवन रामपुरको तापक्रम झन्डै ४२ डिग्री

 जेठ २१, २०८० आइतबार १९:१७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज आइतवार पनि तराईका विभिन्न ठाउँमा तातो हावा चलेको छ । गएको हप्तादेखि वर्षा तथा वर्षा गराउने प्रणाली कमजोर हुँदा बढेको तापक्रम आज पनि कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो चितवनको रामपुरमा अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो । यस्तै नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुरलगायतका ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशका सबै जिल्लासहित बाग्मती, लुम्बिनी र कोशी प्रदेशका तराईका क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ । यसबाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन र भित्री मधेसमा पनि सम्भावित अत्यधिक गर्मीबाट जोगिन सचेत रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले पहाडका उपत्यका र खोँचमा पनि तापक्रम क्रमशः बढ्ने अनुमान गरेको छ ।

अत्यधिक गर्मीका कारण विशेषगरी तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो पालिकाहरूले गर्मीका कारण विद्यालयमा बिदा दिन थालेका छन् ।

यसैबीच यसपालि असारको पहिलो हप्तामात्रै मनसुन भित्रिने महाशाखाले अनुमान गरेको छ । भारतमा मनसुन भित्रिनै ढिला भएकोले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रिने गर्छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया